आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्दै विरेखोला झरना
बाजुरा। बाजुराको बडीमालिका नगरपालिका–६ र ८ को सीमास्थित रापकामा पर्ने विरेखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।
बाजुराको सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर र अछामबाट ५० किलोमिटर दूरीमा पर्ने यो झरना सांफे–मार्तडी सडकखण्डको छेउमै रहेकाले सहजै पुग्न सकिन्छ। वर्षायाम सुरु भएसँगै असारदेखि कात्तिक महिनासम्म बालकदेखि वृद्धसम्मका लागि झरना प्रमुख गन्तव्य बन्ने गरेको स्थानीय रुपक थापाले जानकारी दिनुभयो।

बडीमालिका नगरपालिकाले विरेखोला झरनालाई आन्तरिक पर्यटनको प्राथमिक गन्तव्यका रूपमा सूचीकरण गरेको छ। नगरप्रमुख अमर खड्काका अनुसार झरनालाई थप व्यवस्थित र आकर्षक बनाउने योजना अगाडि बढाइएको छ।
करीब २०० मिटर लामो झरना हेर्न एक सिजनमा १ लाखभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। झरनामा आउनेहरूमा बाजुरासहित छिमेकी जिल्ला अछाम र बझाङका पर्यटकको उल्लेख्य उपस्थिति हुने गरेको छ।
झरना स्थानीय व्यापारीका लागि आम्दानीको स्रोतसमेत बनेको छ। भौतिक पूर्वाधार विकास गर्न सके विदेशी पर्यटकसमेत आकर्षित गर्न सकिने र यसले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने विश्वास स्थानीयवासीको छ।

प्रतिक्रिया राख्नुहोस्