केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा टेबुल
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमाथि अध्ययन तथा छानविन गर्न गठित विशेष समितिको प्रस्तावमा सहमति प्रदान गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयकको प्रतिवेदनमाथि अध्ययन तथा छानविन गर्न गठित विशेष समितिको प्रस्तावमाथि सहमति प्रदान गर्न प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले सहमति प्रदान गरेको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिवेदनमा भएका त्रुटि र कसैको संलग्नता देखिएमा के कस्तो संलग्नता रहेको छ त्यसको एकीन गरी कानुनी कारबाही गर्न पर्ने वा नपर्ने सुझाव सहित २१ दिन भित्र प्रतिवेदन पेश गर्ने गरी समितिको कार्यादेश तोकिएको पनि बैठकमा जानकारी गराउनुभयो ।
यस्तै प्रतिनिधि सभाको आजकै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० टेबुल भएको छ ।
बैठकमा प्रतिनिधि सभा सचिव हर्कराज राईले विनियोजन विधेयक २०८२, आर्थिक विधेयक २०८२, राष्ट्र ऋण उठाउने विधेयक २०८२ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुभयो ।
यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन २०८२, महालेखा परीक्षकको ६२ औ वार्षिक प्रतिवेदन २०८२ पेश हुनुका साथै राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत भएको छ ।
बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास पहिलो संशोधन विधेयक २०८२ प्रस्तुत गर्नुभएको हो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारीमा रहेका युवा श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यान्वयनका लागि नेपाल सरकारको कूटनीतिक कमजोरीका कारण नेपाली श्रमिकहरू सामाजिक सुरक्षा कोषमा समावेश हुन नसकेको बताउनुभयो ।
सांसद पौडेलले फ्रि भिजा र फ्रि टिकटको नाममा नेपाली श्रमिकहरूबाट जनही ५ लाख सम्म रकम असुल गर्ने म्यानपावर कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
यस्तै सांसद सूर्यबहादुर थापाले सङ्घीय निजामती विधेयक निर्माण प्रक्रियाको अभ्यासमा प्रश्न उठेपछि संसदीय छानविन समिति गठन भइसकेको अवस्थामा पनि सांसदहरूमाथि विविध आरोप लाञ्छना लगाउने, अपमानित गर्ने जस्ता अभ्यासमा सांसदहरु लाग्नु सिङ्गो प्रणालीमाथिको प्रहार भएको बताउनुभयो ।
सांसद थापाले विदेशमा रहेका क्षमतावान् नागरिकलाई राष्ट्र निर्माणका लागि देश फर्कने वातावरण सिर्जना गर्न राष्ट्रिय सहमति गर्न आवश्यक रहको पनि बताउनुभयो ।
सांसद महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको सडक दुर्घटनामा परी बर्सेनि धेरैले ज्यान गुमाउनु पर्ने अवस्था रहेको भन्नुहुँदै यात्रुहरूलाई सहज आवतजावतका लागि सरकारले बेवास्ता गर्न नहुने उल्लेख गर्नुभयो ।
सांसदहरुले बाढि पहिरो जस्ता प्राकृतिक प्रकोप तथा भूकम्पपीडित नागरिकहरूको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले हाल भारी वर्षा र बाढि पहिरोले धेरै जनधनको क्षति पुगिरहेको र जोखिम रहेको क्षेत्रको पहिचान गरी समयमै पूर्वसूचना र राहत उद्धारको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले डाक्टरहरूको आन्दोलनको कारण देशभरका अस्पतालहरूमा उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेकोले चिकित्सकीय उपचारमा गरिने निर्णयमा सरकार गम्भीर बन्दै तत्काल समस्याको समाधानका लागि सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले किसानहरूलाई समयमै मल अभिलम्ब उपलब्ध गराउनुपर्ने, नेपालमा पर्यटन प्रवर्द्धन र पर्यटकको सुरक्षा सुनिश्चिता गर्न पर्यटक प्रहरीको व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय परिचय पत्र निर्माण तथा वितरण गर्न सम्भव हुने स्थानीय तहहरूबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली मङ्गलवार दिनको १ बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्