तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला फुटबल टोलीलाई सधैँ पिरोलिरहने उज्वेकिस्तानविरुद्धको खेल

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकान्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रुपमा लिएको छ । टोलीका सदस्यहरूलाई फुटबल खेलबाट संन्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को भनाइ एकदमै मार्मिक छ । फुटबल मैदानमा सधैँ दृढ देखिने साम्बालगायतका खेलाडीले उज्वेकिस्तानविरुद्धको खेल समाप्त भएपछि मैदानमै आँसु खसालेको देखेपछि नेपाली फुटबल प्रेमीहरूले नरमाइलो मानेका थिए । 

आज स्वदेश फर्कँदा समेत महिला फुटबल टोलीका सदस्यहरूको अनुहारमा खुसी थिएन । सो टोलीका प्रशिक्षकहरूले पनि यो दुःखद क्षणलाई आगामी दिनमा पनि पक्कै बिर्सने छैनन् । नेपाली महिला फुटबल टोलीका लागि यो जत्तिको ठूलो प्रतियोगिता केही थिएन । यो अवसरलाई नेपाली टोलीले सही तरिकाले उपयोग गरेको थियो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला फुटबल टोलीले १००औँ प्रतियोगिताका सिलसिलामा सबैभन्दा आक्रामक खेल खेल्दै हालसम्मकै सर्वाधिक गोल गर्न सफल भएको थियो । नेपाली महिला फुटबल टोलीको फाइटिङ स्पिरिटको सकारात्मक सन्देश सबैतिर फैलिएको छ । अन्तिम खेलमा उज्वेकिस्तानलाई कडा चुनौती दिँदा नेपाली टोली पेनाल्टी सुट आउटमा चुकेको थियो । नेपाल सम्भावित विजेताको अवसरबाट वञ्चित हुन पुग्यो । यसले नेपालको महिला फुटबलको आगामी मार्ग समेत अवरोध हुन पुग्यो ।

क्षमायाचना
अखिल नेपाल फुटबल सङ्घले खेलको नतिजा चाहेको जस्तो नभएको जनाएको छ । सङ्घले सबैको सहयोगको कदर पनि गरेको छ । 

नेपाली टोलीकी स्ट्राइकर प्रिति राईले नेपालको पराजयपछि सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेकी छिन । धेरै प्रयास गर्दा समेत खेलमा विजयी हुन नसकेको भन्दै उनले नेपाल पराजित भएकामा माफी मागेकी हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहको धारणा बेग्लै छ । उनले नेपाली महिला टोलीले खेल नहारेको धारणा व्यक्त गर्दै खेलको स्तर जितभन्दा माथि भएको बताइन् । 

प्रशिक्षकको भूमिका
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो नियुक्तिपछिको पहिलो जिम्मेवारीमै नेपाली महिला टोलीको खेलमा अत्यधिक सुधार गरेको स्पष्ट महसुस गराएका थिए । उनले खेलाडीहरूलाई किन सकिन्न र? भन्दै उत्प्रेरित गर्ने गरेका थिए । नेपाली खेलाडीहरूले तीन वटा खेलमा क्रमशः सुधार गर्दै लगेको देखिएको थियो । यसमा मुख्य प्रशिक्षकको भूमिका महत्वपूर्ण मानिएको छ । मुख्य प्रशिक्षकले मैदानमा होस वा ड्रेसिङ रुममा  दिएको जिम्मेवारी र सिकाएको शैलीलाई खेलाडीहरूले पछ्याएका थिए । उज्वेकिस्तानसँग ३ गोलले पछि पर्दा पनि नेपालले गोल फर्काउन सक्नु सानो उपलब्धि होइन । तर पेनाल्टीमा चुक्नु नेपालका लागि दुर्भाग्य बन्न पुग्यो । गोल मेसिनका रुपमा सशक्त खेलाडी बनेर प्रशंसाको पात्र बनेकी कप्तान साम्बाले प्रहार गरेको पेनाल्टी बल दुर्भाग्यवश गोल पोष्टको पोलमा लागेर फर्कनु, आफ्नो टोलीमा प्रिति राई र रेखा पौडेलजस्ता स्कोरर हुँदा हुँदै प्रशिक्षकले गोलकिपर अन्जना रानामगरलाई पेनाल्टी प्रहार गर्ने अवसर दिनु जस्ता कारणले नेपालको आगामी अष्ट्रेलियाको यात्रा टुङ्गिन पुगेको कुरालाई नकार्न सकिन्न ।

गोलकिपरलाई दबाब
मुख्य प्रशिक्षकले अन्जना रानामगरलाई लगातार तीन खेलमा खेलाउँदा उनलाई पक्कै दबाब परेको थियो । यस्तो अवस्थामा गोलकिपर नर्भस हुनु स्वाभाविक थियो । यस अघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्जिला तुम्बापो सुब्बाले गोलकिपरको रुपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै गोल बचाउने सन्दर्भमा पनि नाम कमाएकी थिइन । खेलको ख्यातिकै कारण उनको जीवनीमा आधारित ‘अन्जिला’ नामक चलचित्र निर्माण गरी उनलाई अभिनेत्रीका रुपमा ख्यातिप्राप्त सिनेमा निर्देशक निर्मल चाम्सले डेब्यु गराएका थिए । तासकान्दको प्रतियोगितामा मुख्य प्रशिक्षकले एन्जिलालाई कप्तानबाट हटाउनुका साथै लगातार तीन खेलमा जगेडा गोलकिपरका रुपमा बेन्चमा राखेका थिए । शनिवारको महत्वपूर्ण खेलमा प्रशिक्षकले नेपाली गोलकिपरका बारेमा ध्यान दिएको भए नतिजा सकारात्मक आउने थियो भन्नेहरू पनि छन् । रक्षात्मक पक्षका खेलाडीहरूले गोल पोष्ट जोगाउन नसक्नु, गोलकिपर अन्जना रानामगरले सम्भावित गोलको आङ्कलन गर्न नसक्नु,  बल प्रहार हुँदा ढिलो ड्राइभ गर्नु जस्ता कारणले गोल भएका थिए । पेनाल्टी प्रदर्शन अतिनै महत्वपूर्ण थियो । यस्तो निर्णायक पेनाल्टी सुट आउटमा नेपालले ४ मध्ये २ मात्र पेनाल्टी गोल गर्न सक्नु दुर्भाग्य हुन पुग्यो ।

साम्बाको सफलता 
साम्बालाई कप्तानको जिम्मेवारी दिँदा पहिले विवाद पनि भएको थियो । कप्तानको जिम्मेवारी पाएपछि आफू तीन वटै खेल खेल्नु अघिको राति सुत्न नसकेको स्वयम साम्बाले स्विकारेकी छिन् । एघार वर्ष महिला फुटबलमा बिताएकी साम्बाले यति ठूलो दबाब कहिल्यै पनि बेहोरेकी थिइनन् । उनी टोलीका सबै खेलाडी कप्तान भएको मान्दछिन् । सबैको सहयोगमा उनको नेतृत्वमा टोलीले नतिजा हासिल गर्न सफलता प्राप्त गरेको थियो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एसिया कपमा प्रवेश गराउन नसकेपनि नेपाली टोलीलाई सशक्त टोलीका रुपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ । तासकान्दमा खेलेका तीनवटै खेलमा नेपालले विपक्षी टोलीहरूलाई कडा चुनौती दिएको थियो । विश्व बरीयताका क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई १००औँ स्थानमा रहेको नेपालले रक्षात्मक वा आक्रामक दुवै पङ्तीका तर्फबाट यथोचित प्रतिस्पर्धा गरेको थियो । कप्तान साम्बाले यसपाली तीनवटै खेलमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेकी थिइन् । उनले  अन्तिम दिनको खेलमा २४औँ, ७१औँ र ७३औँ मिनेटमा लगातार तीन गोल गरेर प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेर आफूलाई विश्वकै अब्बल दर्जाको खेलाडीका रुपमा परिचित गरेकी छिन् ।

मौसमको चुनौती 
नेपाली खेलाडीहरूका लागि उज्वेकिस्तानको मौसम पनि चुनौती बन्न पुगेको थियो । अत्यधिक गर्मीका कारण पहिलो खेलमा ज्यादै कठिन महसुस गरेका नेपाली खेलाडीहरू दोस्रो तथा तेस्रो खेलसम्म आइपुग्दा बिस्तारै अभ्यस्त हुँदै गएका थिए । खेल अवधिमा रेफ्रीले खेल बीचैमा रोकेर कुलीङ ब्रेक दिने गरेका थिए । तापक्रम बढी भएको अवस्थामा खेल्नु पक्कै पनि सहज हुँदैन । यस्तो अवस्थामा रेफ्रीले खेल बीचैमा केही बेर रोकेर खेलाडीलाई पानी खाने समय दिन कुलिङ ब्रेक दिने नियम छ । यसले खेलाडीहरूको शरीरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्दछ । तापक्रम बत्तीस डिग्री सेल्सियस पुगेपछि अत्यधिक तातो मानिन्छ । तापक्रम अत्यधिक बढेको अवस्थामा खेलाडीको सुरक्षाका लागि कुलिङ ब्रेक आवश्यक पर्दछ । उज्वेकिस्तानमा अहिले गर्मी मौसममा तापक्रम बढी भएकाले तातो र सुख्खा हुने गरेको छ । त्यो मुलुकमा सबैभन्दा बढी तापक्रम जुलाई महिनामा हुने गरेको छ । उज्वेकिस्तानका धेरै सहरमा यस महिनामा औसत दैनिक तापक्रम ३५ डिग्री सेल्सियस पुग्ने गरेको छ । तर जाडोयाममा भने अत्यधिक चिसो भई तापक्रम माइनस एक डिग्री सेल्सियसदेखि माइनस ३ डिग्री सेल्सियसम्म झर्ने गर्दछ । एसियाली कपको छनोट चरणमा पराजित भएर प्रतियोगिताबाट बाहिरिए पनि नेपाली फुटबल टोलीले फुटबल प्रेमी दर्शकको मन जित्न सफल भएको छ । तर नेपालको एसिया कपमा सहभागिता अवरुद्ध हुनुका साथै आगामी फिफा महिला विश्वकप र ओलम्पिक जस्ता सम्भावित प्रतियोगितामा नेपालको सहभागिता पनि टुङ्गिएकोलाई दुःखद पक्ष मान्न सकिन्छ ।  

उत्कृष्ट लयमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पनि रक्षात्मक हुन वा आक्रामक खेलको माध्यमबाट विपक्षीहरूलाई कडा चुनौती दिँदै बलियो उपस्थिति जनाएको थियो । लगातार तीनवटै खेलमा नेपालले आफूलाई बलियो टोलीका रुपमा मैदानमा उतार्नु मुलुककै फुटबल इतिहासमा गौरवको विषय हो । यस अघि नेपालले लाओसलाई ९–० गोलअन्तरले तथा श्रीलङ्कालाई ८–० गोलअन्तरले पराजित गर्दै आफ्नो टोली बलियो भएको प्रमाणित गरेको थियो । 

समग्रमा नेपालले आफूभन्दा माथिल्लो बरीयताको टोलीसँग खेल्ने अवसर पाउँदा पक्कै पनि धेरै कुरा सिकेको छ । नयाँ खेलाडीहरू उत्पादन गर्ने, स्वदेश तथा विदेशका प्रतियोगिताहरूमा खेलाडीहरूलाई अत्यधिक प्रतियोगिताहरूमा सहभागी गराउने तथा खेलाडीहरूलाई खेलेर बाच्न सक्ने अवस्था सिर्जना गर्नका लागि आवश्यक उपायहरू अबलम्बन गर्नु जरुरी छ । नेपालले तासकान्दमा सिकेको पाठलाई आगामी दिनमा व्यवहारमा उतार्दै नेपाली महिला फुटबललाई प्राथमिकतामा राखेर उचित रणनीति तर्जुमा गर्न अखिल नेपाल फुटबल सङ्घले तदारुकता देखाउन ढिलो गर्न हुँदैन । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button