पानी नपर्दा रोपाई हुन सकेन, पर्साका किसान चिन्तित
वीरगंज । आकाशे पानीको भरमा खेती गर्दै आएका पर्साको उत्तरी क्षेत्रका किसानहरु असारको २३ सम्म पनि पानी नपरेपछि चिन्तित भएका छन् ।

आकाशे तथा भलछोपुवा पानीको भरमा धान खेती गरिने पर्साको अधिकांश क्षेत्रमा खडेरीको मारले खेतहरू बाँझै रहेका छन् ।
सखुवाप्रसौनी गाउँपालिका बडा नम्बर–५ का किसान विश्वनाथ यादवले १७ दिनदेखि पानी नपर्दा धान रोप्नका लागि छरिएको बिउ ब्याडमै मर्न थालेको बताउनुभयो । असार महिनाभित्र पानी नपरे यो वर्ष धान खेती नै नहुने सम्भावना रहेको उहाँले गुनासो गर्नुभयो । खडेरीका कारण नदी, कुलो र धाराहरू सुकिसकेका छन् ।
सिँचाइको अभावमा बिउमा पानी हाल्न नसक्दा किसानहरूले ठूलो नोक्सानी बेहोरिरहेका छन् । गण्डक नहरमा पानी उपलब्ध भएकाले नहरको दक्षिणी क्षेत्रका किसानलाई समस्या नभएपनि नहरको उत्तरी क्षेत्रमा आकाशे पानी, बोरिङ, कुलो र बाँधको भरमा खेती हुँदै आएको छ ।
लामो खडेरीले कुलो, बाँध र बोरिङहरू सुकेपछि किसानहरूको वर्षभरिको मेहनत खेर जाने अवस्थामा पुगेको छ ।
किसानहरूले समयमा मलखाद नपाउने र खेतमा बोरिङ जडान नहुनुले समस्या झनै जटिल बनेको छ । सखुवाप्रसौनीका किसान रामगुलाम यादवले वर्षभरको मेहनत धान खेतीमा लगाउँछौँ, तर पानी नपर्दा र सिँचाइको व्यवस्था नहुँदा सबै मेहनत खेर जाने स्थिती बनेको गुनासो गर्नुभयो ।
किसानहरूले प्रत्येक वर्ष खडेरी र सिँचाइ अभावको समस्या भोग्दै आएका छन् । आकाशे पानीमा निर्भर रहने किसानहरूका लागि समयमा सिँचाइको व्यवस्थापन नहुँदा खेतीमा ठूलो जोखिम बढेको छ । विश्वनाथ यादवले सम्बन्धित निकायहरूलाई सिँचाइ व्यवस्था, गुणस्तरीय बिउ, मलखाद र धानको उचित बजार मूल्य सुनिश्चित गर्न आग्रह गर्नुभयो । “हाम्रोजस्तो सानो गाउँमा बोरिङ र सिँचाइको राम्रो व्यवस्था भए धान खेतीमा ठूलो राहत मिल्ने थियो,” उहाँले भन्नुभयो ।
पर्साका किसानहरूले खडेरीको मार र सिँचाइ अभावले गर्दा ठूलो सङ्कट भोगिरहेका छन् । सम्बन्धित निकायले समयमै सिँचाइ सुविधा, मलखाद र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने माग किसानको छ ।








प्रतिक्रिया राख्नुहोस्