मुगुमा वर्षासँगै खेतमा चहलपहल, रोपाइँको रौनक

मुगु। मनसुन वर्षा सुरु भएसँगै कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा कृषिकर्म तीव्र भएको छ। मुगु, डोल्पा, जुम्ला, हुम्ला, मालिकाेटलगायतका क्षेत्रमा किसानहरू रोपाइँ, गोडमेल, मल छर्ने, कोदो तथा धान रोप्ने कार्यमा जुटिरहेका छन्।
असारको दोस्रो सातादेखि लगातार वर्षा भइरहेकोले खेतमा पानी जम्न थालेको छ। बिहानैदेखि किसानहरू गोरु जोत्ने, बीउ छर्ने, धान रोप्ने जस्ता काममा व्यस्त छन्। महिलाहरू सामूहिक रूपमा रोपाइँ गर्ने, कोदो लगाउने, बीउ निकाल्ने कार्यमा सक्रिय देखिन्छन्।

स्थानीय कृषक कालीप्रसाद रावल भन्छन्, “अघिल्ला वर्षमा असारमै राम्रो पानी पर्थ्यो, तर यसपालि केही ढिलो भयो। पानी ढिलो परेकाले ढिला नगरी छिटो काम थालेका हौँ।”
सिंचाइ सुविधा कमजोर रहेको मुगुजस्ता जिल्लामा आकासे पानीमा भर परेर खेती गरिँदै आएको छ। छायाँनाथ रारा नगरपालिका–५ का कृषक कुमबहादुर कार्की भन्छन्, “गत वर्ष साउन लाग्नुअघि सबै काम सकिन्थ्यो, अहिले त साउन भेटिन लाग्यो। तर राम्रै पानी परिरहेको छ, बाली सुक्ने चिन्ता छैन। राम्रो हुने आशा छ।”

सिंचाइ सुविधा अभाव भएका कर्णालीका जिल्लाहरूमा वर्षा नै मुख्य भर हो। ढिलो भए पनि पर्याप्त वर्षा भएकाले किसानहरू यो वर्षको बालीप्रति आशावादी देखिएका छन्।









प्रतिक्रिया राख्नुहोस्