‘योगमायाको सङ्घर्ष महिला सशक्तीकरणका लागि प्रेरणाको स्रोत’
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख, इन्दिरा रानाले स्वर्गीय योगमायाको सङ्घर्ष महिला अधिकारका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज काठमाडौँमा महिला अधिकारका अभियन्ता स्वर्गीय योगमायाको स्मृतिमा आयोजना गरेको कार्यक्रममा उपसभामुख रानाले अहिले महिलाहरू राज्यका सबै तहमा समान रुपमा प्रतिनिधित्व गर्नेगरी अगाडी बढ्नुमा स्वर्गीय योगमायाको सङ्घर्षको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगले अनुसन्धान तथा लैङ्गिक नीतिका क्षेत्रमा गरेका कामको प्रशंसा गर्नुहुँदै थप सक्रियता आवश्यक रहेकामा उपसभामुख रानाले जोड दिनुभयो ।
यस्तै, महिला आयोगका अध्यक्ष कमला पराजुलीले योगमायालाई अनमेल विवाह, बालविवाह र सती प्रथाविरुद्ध सङ्घर्ष गर्ने अग्रणी अभियन्ताका रुपमा सम्मान गर्नुहुँदै योगमायाको योगदानलाई ऐतिहासिक अभिलेख तथा पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडल खतिवडाले योगमायाले अन्यायमा परेका महिला मात्र नभई, गरिब, उत्पीडित र शोषित वर्गका लागि पनि सामाजिक न्यायको माग गर्नुभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोगका सचिव रेखा कँडेल, राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राई, मधेसी आयोगका सदस्य आभा कुमारी सिंह लगायतले योगमायालाई लैङ्गिक समानता र कुप्रथा विरुद्ध लड्ने साहसी तथा विदुषी महिलाको रूपमा स्मरण गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्