तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण नेपालको ओ एण्ड एम सम्बन्धी छलफल सम्पन्न

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपाल कर्मचारी सङ्घले सार्वजनिक सेवा प्रसारण नेपालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) सम्बन्धी छलफल गरेको छ । 

सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालको केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा सञ्चार कानुन विद् एवं सार्वजनिक सेवा प्रसारण नेपाल सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) सुझाव समितिका संयोजक काशीराज दाहालले सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार समाचार तथा कार्यक्रममा समेटिने सामग्रीहरूमा रूपान्तरण देखिनुपर्ने बताउनुभयो । 

संयोजक दाहालले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरी नयाँ संरचना सहितको सार्वजनिक सेवा प्रसारण संस्था स्थापना गर्ने कानूनी व्यवस्थाको उद्देश्य अनुसार प्रसारकहरूले आफ्नो भूमिकामा समेत रूपान्तरण ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेलले रेडियो नेपाल विगतमा सञ्चार मन्त्रालयको विभागका रुपमा रहेको र यसका कर्मचारीहरू त्यसै पृष्ठभूमिको निरन्तरता भएकोले रेडियो नेपालका कर्मचारीहरूको निवृत्तिभरणको सुविधा नेपाल सरकारले नै सुनिश्चित गरिदिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा सहभागीहरूले सार्वजनिक सेवा प्रसारण नेपालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) ले रेडियो नेपालमा विभिन्न भाषाभाषीका समाचार तथा कार्यक्रममा कार्यरत कर्मचारीहरूको व्यवस्था के हुन्छ, करारमा कार्यरत कर्मचारीहरूको व्यवस्था के हुन्छ, रेडियो नेपालको प्रदेश प्रसारण र रिले केन्द्रहरूमा रहने कर्मचारीको दरबन्दी कस्तो हुन्छ, रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारी समायोजनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने लगायतका विभिन्न जिज्ञासाहरू राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button