तपाईँ सुन्दै हुनुहुन्छः

‘ठेकेदारसँग कार्यतालिका मागेर सुनकोशी–मरिनको काम द्रुत गतिमा अगाडि बढाउँछौँ’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ठेकेदार कम्पनीसँग कार्यतालिका मागेर सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई द्रुत गतिमा अगाडि बढाउने बताउनुभएको छ । 

पूर्वाधार विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले उक्त आयोजनाको टनेल निर्माणको काम सम्पन्न भइसकेको भन्दै बाँकी कामका लागि कार्यतालिका मागेर द्रुत गतिमा अगाडि बढाउन खोजिएको बताउनुभयो ।

उहाँले सुनकोशी–मरिन आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन पूर्वाधार समितिबाट उपसमिति बनाएर आयोजनाको बारेमा जानकारी लिँदा आयोजना चाँडो सम्पन्न गर्न फाइदा पुग्ने बताउनुभयो । 

उर्जामन्त्री खड्काले पूर्वाधार समितिमा छलफलका क्रममा रहेका विद्युत् विधेयक, २०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकलाई सँगै अगाडि बढाएर पास गर्न समितिले तदारुकता देखाउन आग्रह गर्नुभयो । “कुनै एक विधेयकलाई अगाडि बढाएर अर्को विधेयक रोक्नुपर्छ भन्ने छैन, दुवै विधेयकलाई टुङ्ग्याऊँ भन्ने हो,” उहाँले भन्नुभयो  । 

उहाँले लामो समयदेखि थाती रहेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विद्युत् बक्यौता उठाउनका लागि समिति बनाएर छानविन गरिरहेको बताउनुभयो  । प्रयोग गरेको विद्युतको बिल कुनै हालतमा तिर्नुपर्ने मन्त्री खड्काको भनाई थियो । 

उर्जामन्त्री खड्काले बजेटमा आएको टेक एण्ड पे को व्यवस्था परिमार्जन भइसकेको बताउँदै यस सम्बन्धमा भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले जलस्रोत विधेयकका सवालमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उक्त विधेयकका बारेमा प्रधानमन्त्री र मन्त्रीहरूले चासो राख्नु स्वभाविक भएको बताउनुभयो । उक्त विधेयक राष्ट्रिय सभामा पुगेकाले सो विधेयक चाँडो राष्ट्रिय सभामा पेश हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button