तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी–कोल्टी सडक अवरुद्ध, स्थानीय आवतजावतमा कठिनाइ

बाजुरा।अविरल वर्षासँगै पहिरो खसेपछि बाजुराको प्रमुख सडकमार्ग मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका–७ स्थित भासुपाल्त क्षेत्रमा खसेको ठूलो पहिरोले सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारिले जानकारी दिनुभयो।

सडक अवरुद्धसँगै कोल्टी क्षेत्रबाट सदरमुकाम मार्तडीतर्फ आउने स्थानीयवासीको आवतजावत प्रभावित भएको छ। खहरे खोलाको बहाव समेत अत्यधिक बढेकाले यात्रा थप जोखिमपूर्ण बनेको छ।

सडक बन्द हुँदा सबै किसिमका छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। पहिरो हटाउने प्रयास भइरहे पनि खहरे खोलाको बहाव बढिरहेकोले तत्काल सडक खुल्ने सम्भावना कम रहेको हवारिले बताउनुभयो।

यसअघि पनि बाउली खोलामा आएको बाढीका कारण यात्रुहरूलाई अनाइ खोला पारीबाट गाडी चढ्नुपर्ने बाध्यता थियो। वर्षा सुरु भएसँगै हरेक वर्ष यो सडक अवरुद्ध हुने समस्याले स्थानीयवासीले निरन्तर सास्ती खेँप्दै आएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button