बाँकेमा छोराद्वारा बुबाको हत्या, अभियुक्त फरार
नेपालगन्ज। बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारी निवासी ६० वर्षीय टोप बहादुर रोका क्षेत्रीको आफ्नै कान्छो छोराले हत्या गरेका छन्।
शनिबार राति करिब ८ बजे टोप बहादुरको ३२ वर्षीय छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटना हुँदा घरमा अन्य परिवार सदस्य नरहेका र यही मौका छोपी भविलालले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
हत्याको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन। फरार रहेका भविलालको खोजीमा प्रहरी जुटेको छ।
प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अभियुक्तको खोजी तीव्र पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया राख्नुहोस्