तपाईँ सुन्दै हुनुहुन्छः

वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको पुस्तक विमोचन

बाँके। वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा लेखिएको ‘सङ्गीत स्वर सरगम: आधारभूत ज्ञान’ नामक पुस्तकको शनिबार एक विशेष कार्यक्रममा विमोचन गरिएको छ।

असल शासन मिडियाले प्रकाशन गरेको सो पुस्तक बालबालिकाहरू खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृद्धि भण्डारीलगायत सात जनाको संयुक्त उपस्थितिमा विमोचन गरिएको हो।

कार्यक्रममा सिंहलाई नागरिक अभिनन्दन गरिनुका साथै संघीय सांसद डा. धवल शमशेर राणा र लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले सम्मान–पत्र प्रदान गरेका थिए। पतञ्जलि योग समिति, नील सागर आश्रम, जनमत अर्द्ध साप्ताहिकसहित अन्य संस्थाहरूले पनि सिंहलाई सम्मान गरेका थिए।

पुस्तक प्रकाशन संयोजक हेमन्तराज काफ्लेले पुस्तकबारे जानकारी गराएका थिए भने असल शासन मिडियाका प्रमुख नमस्कार शाहले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. राणाले सिंहलाई बहुप्रतिभाशाली व्यक्तित्वको रूपमा उल्लेख गर्दै उहाँको कलामार्फत समाजमा पुर्‍याएको योगदानको कदर राष्ट्रले गर्नुपर्ने बताए। सांसद अम्बिका काफ्लेले सिंहको कला केन्द्र स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्।

दिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०० भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button