तपाईँ सुन्दै हुनुहुन्छः

कला प्रदर्शनीमा पच्चिस कला शिक्षक सम्मानित

काठमाडौँ । काठमाडौँको बागबजारमा रहेको सहिद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला शिक्षकलाई सम्मान गरेको छ । 

यहाँ आयोजित कला कार्यशाला तथा कला प्रदर्शनीका अवसरमा २५ जनालाई सम्मान गरिएको हो । 

सम्मान हुनेमा कला शिक्षकहरू राजु पिठाकोटे, आर्या राजभण्डारी, सुमन श्रेष्ठ, ज्योति खड्का, सजनी श्रेष्ठ, चाँदनी बज्राचार्य, सुरेम देशार, सञ्जय प्रधान, लक्ष्मी मास्के (पुनम), सविता चित्रकार, प्रकाश मिजार रहेका छन् । 

यस्तै, मलिका उदास, सरला श्रेष्ठ, किशोर रानाभाट, रेनुका महर्जन, मोहन सिवाकोटी, शुवाष क्षितिज श्रेष्ठ, दीपक कुँवर, रामकृष्ण महर्जन, जुनु माली, विपना महर्जन, मनरा प्रजापति, आनन्द श्रेष्ठ, डिबी राई र रतिना बज्राचार्यलाई पनि सम्मान गरिएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यहाँ आयोजित प्रदर्शनीको अवलोकनपश्चात् आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला शिक्षामा रहेको भन्दै बताउँदै यस्ता कार्यले कला शिक्षकहरूमा हौसला प्रदान हुने बताउनुभयो ।

उहाँले समाज र शिक्षाको मेरुदण्ड कला रहेको बताउँदै आउँदा दिनमा कला शिक्षकका लागि प्रज्ञा प्रतिष्ठानले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यशालासमेत आयोजना गरिँदा यसले कलाका विद्यार्थी र शिक्षकबीच प्रायोगिक रूपमा कलाको पुस्तान्तरण हुन सहयोग पुग्ने कुलपति हार्तम्छालीको भनाइ थियो । 

प्रतिष्ठानकी प्राज्ञपरिषद् सदस्य शौरगङ्गा दर्शनधारीले कला शिक्षकका लागि पहिलो पटक यसरी सम्मान गरेकामा खुसी व्यक्त गर्दै कलाकार जन्माउने शिक्षकको सम्मान कला प्रतिको सम्मान हो भन्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश ढुङ्गेलले व्यवस्थापन समितिको जिम्मेवारी सम्हालेदेखि नै आफू विद्यालयको भौतिक र शैक्षिक वातावरण सुधारमा लागेको बताउनुभयो । उहाँले कला कार्यशालाले कला शिक्षकहरूलाई विद्यार्थी र आमजनतासँग जोड्ने सेतुको काम गरेको धारणा राख्नुभयो । 

कार्यक्रममा प्राध्यापक राधेश्याम मुल्मी, नेपाल व्यावसायिक कलाकार सङ्घका अध्यक्ष प्रेमलाल श्रेष्ठ, विद्यालयका प्राचार्य शैलीसिंह राठौरलगायत सम्बोधन गर्नुभएको थियो । 

कार्यक्रम संयोजक केशवराज खनालले ढुङ्गा कुँदेर हिरा निकाल्ने कला शिक्षकप्रति कसैले चासो नराखेकाले यो सम्मान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । 

आजै विद्यालय प्राङ्गणमा कला कार्यशाला र प्रदर्शनीको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button