तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुराबाट चालु आवको १० महिनामा मात्रै २ हजार १९४ जनाले लिए श्रम स्वीकृति 

डडेल्धुरा । वैदेशिक रोजगारीका लागि डडेलधुराबाट चालु आर्थिक वर्षको १० महिनामा मात्रै २ हजार १९४ जनाले श्रम स्वीकृति लिएका छन् । 

देशबाट दैनिकजसो रोजगारीका लागी नेपाली युवाहरू विदेशतिर जान लागेको व्यापक चर्चा परिचर्चा भइरहेका बेला डडेलधुराबाट मात्रै १० महिनामा २ हजार १९४ जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क सार्वजनिक भएको हो ।  

वैदेशिक रोजगारी तर्फको आकर्षण दिन प्रतिदिन बढिरहेको भए पनि आवश्यक सीप, कानुनी जानकारी र सचेतना अभावमा नेपाली युवाहरूले समस्यामा झेल्नु परिरहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिकाले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । 

कार्यक्रममा अमरगढी नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले वैदेशिक रोजगारीको नाममा ठगी, कानुनी अन्यौल र दलालको जालो झेलिरहेका युवाहरूको सङ्ख्या बढ्दै गएको बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना र सेवाको पहुँच गाउँ बस्तीसम्म पु¥याउन जरुरी रहेको धारणा समेत राख्नुभयो । 

सामी कार्यक्रमका अधिकृत विष्णु अर्यालले सूचनाको अभावले धेरै नेपाली विदेशमा पीडित बन्ने गरेको उल्लेख गर्दै कार्यक्रममार्फत कानुनी सेवा, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतासम्बन्धी सेवा दिइँदै आएको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको समेत उहाँले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म सुदूरपश्चिम प्रदेशका ३६ हजार ८ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये डडेलधुराबाट मात्रै २ हजार १९४ जनाले अनुमति लिएका हुन् । 

सुदूरपश्चिमका अन्य जिल्लाबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेहरूमा अछाम ६ हजार ८२८, बैतडी ४ हजार ८८८, बझाङ २ हजार ९५७, बाजुरा २ हजार ५४३, दार्चुला २ हजार ३६१, डोटी १ हजार ८४, कैलाली ७ हजार ७४ र कञ्चनपुर ६ हजार ७९ जना रहेका छन् ।

नेपाल सरकारको तथ्यांकअनुसार हालसम्म ७८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् । 

नेपालबाट वैदेशिक रोजगारीका लागि मुख्य गन्तव्य देशहरूमा साउदी अरब, यूएई, कतार, मलेसिया, कुवेत, जापान, दक्षिण कोरिया, क्रोएसिया, रोमानिया र बहराइन रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button