तपाईँ सुन्दै हुनुहुन्छः

ठोरी जिल्लाको पहिलो साक्षर पालिका घोषणा 

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको छ ।

ठोरी गाउँपालिका वडा नम्बर ३ शिकारीवासमा आज आयोजित एक भव्य कार्यक्रमबिच गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्नुभयो ।

नेपाल सरकारले साक्षर पालिका घोषणाका लागि तोकेका १२ वटा सूचकमध्ये ठोरी गाउँपालिकाले ८ वटा सूचक पूरा गरेको आधारमा पालिकालाई साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले बताउनुभयो । 

आसमान नेपालको सहयोगमा गाउँपालिकाले पालिकाका ५ वटै वडामा गरेर ३ हजार ८ सय ९ घरधुरीको सर्वेक्षण गर्दा १५ देखि ६० वर्ष उमेर समूहका १५ हजार ६ सय ७८ व्यक्तिमध्ये ९८.८६ प्रतिशत अर्थात् १५ हजार ३२१ जना साक्षर भेटिएकोले पालिकालाई साक्षर पालिका घोषणा गरिएको जोशीले बताउनुभयो । 

नेपाल सरकारको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत साक्षर भएमा उक्त पालिकालाई साक्षर पालिका घोषणा गर्न सकिने छ ।

ठोरी गाउँपालिका पर्सा जिल्लाका १४ वटै पालिकामध्ये पहिलो पालिका र मधेस प्रदेशको १३६ पालिका मध्ये ७ औँ साक्षर पालिका घोषणा हुन सफल भएको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । 

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा,उद्योग विभागका महानिर्देशक सुशील साह,नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button