तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मोहर्रम पर्व धुमधामका साथ मनाइँदै, हिन्दू–मुस्लिम समान सहभागिता

बाँके। इस्लाम धर्मका महत्त्वपूर्ण पर्वमध्ये एक मोहर्रम बाँके जिल्लामा धुमधामका साथ मनाइएको छ। हसन र हुसेनको बलिदानको स्मरणमा ताजिया निर्माण गरी यस पर्वलाई श्रद्धाका साथ मनाइने गरिन्छ।

नेपालगञ्ज, डुडुवा, नरैनापुर, राप्ती सोनारी, जानकी, खजुरा, कोहलपुर र बैजनाथ गाउँपालिकामा यो पर्व विशेष उत्सवका साथ मनाइएको हो। मुस्लिम समुदायसँगै हिन्दू धर्मावलम्बीहरूको समेत सक्रिय सहभागिता रहने गरेको छ।

नेपालगञ्ज–४ का मेराज हिमालले मोहर्रमप्रति हिन्दू समुदायमा पनि गहिरो आस्था रहेको बताउनुभयो। पर्वको अघिल्लो साँझ मलिदा चढाई पूजा गर्ने चलन रहेको छ।

मुस्लिम अगुवा हारुन हल्वाइका अनुसार हिजरी संवतको पहिलो दिनदेखि १० दिनसम्म मनाइने मोहर्रम पर्वको मुख्य दिनलाई ‘आसुरा’ भनिन्छ। उक्त दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाइन्छ।

पर्वको अन्तिम दिन आइतबार घरमा बनाइएका ताजियाहरू करबलामा पुर्याई विधिपूर्वक विसर्जन गरिनेछ। बासको ढाँचामा रङ्गीचंगी कागज बेरी बनाइने ताजियाको वरिपरि तासा, ढोल, मजिरा बजाई झर्रा खेल्दै परिक्रमा गरिन्छ। मनकामना पूरा हुने विश्वासले यो परम्परा निभाइने गरिएको छ।

मोहर्रम पर्वको अवसरमा आइतबार डुडुवा र नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button