काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक: नेताहरूले बोल्ने क्रम जारी
पार्टीलाई विधानसम्मत तरीकाले सञ्चालन गर्न र भातृ सङ्गठनहरूलाई सक्रिय बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले पार्टीलाई विधानसम्मत तरीकाले सञ्चालन गर्न र भातृ सङ्गठनहरूलाई सक्रिय बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ ।
आजको बैठकमा बोल्ने अधिकांश नेताहरूले विधान, विधि र प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन हुने पार्टीले लोकतन्त्रमाथि बढिरहेको चुनौतीको सामना गर्न नसक्ने बताउनुभयो ।
यस्तै, नेताहरूले आम जनभावना र कार्यकर्ताको आवाजलाई बुझेर पार्टी सञ्चालन गर्न, पार्टी भित्रका गुट–उपगुटहरूको व्यवस्थापन गरी एकताबद्ध बनाउन, भातृ संस्थाहरूमा विधानसम्मत अधिवेशन गरी नयाँ नेतृत्वका साथ सक्रिय बनाउन तथा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई नियमित बनाउन पनि नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा नेताहरू अर्जुननरसिंह के.सी., सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, डा. रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल, लक्ष्मी खतिवडाले धारणा राख्नुभएको थियो ।
अस्ति असार १६ गते सोमबारदेखि सानेपामा जारी काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ ।
बैठक भोली असार २० गते शुक्रबार बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्