सीमान्तकृत समुदायका मुद्दा उठानमा अभिप्रेरित गर्न क्षमता अभिवृद्धिमा जोड
काठमाडौँ । सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन अभिप्रेरित गर्न क्षमता अभिवृद्धिमा जोड दिनुपर्नेमा जोड दिइएको छ ।

एकता फाउन्डेसन नेपालको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा आज यहाँ आयोजित सामाजिक मुद्दा उठानसम्बन्धी एक दिने क्षमता अभिवृद्धि कार्यक्रममा यस्तो जोड दिइएको हो ।
कार्यक्रममा सञ्चार विज्ञ रघु मैनालीले बागमती प्रदेशमा क्रियाशील पत्रकारलाई प्रशिक्षण समेत दिनुभयो । उहाँले सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन पत्रकारिताले अहम् भूमिका निर्वाह गर्ने हुँदा यस क्षेत्रमा संवेदनशीलता आवश्यक रहेको बताउनुभयो ।
सामाजिक न्याय र समावेशिता प्रवर्द्धनका लागि पत्रकारहरूले गर्दै आएका अभ्यासबारे प्रष्ट पार्दै मैनालीले मुद्दा उठानको कला र ज्ञानसम्बन्धी प्रकाशन पार्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रित सचिव प्रकाश धौलाकोटीले दलित, महिला र सीमान्तकृत समुदायका मुद्दालाई मूलधारका सञ्चारमाध्यमले उचित स्थान नदिएको बताउनुभयो । कतिपय निकै ठूला मुद्दालाई साना मिडियाले समेटे पनि मूलधारका सञ्चारमाध्यमले बेवास्ता गर्ने गरेको उहाँले सुनाउनुभयो ।
फाउन्डेसनका अध्यक्ष रामहरि शाहीले व्यवस्था परिवर्तनका लागि योगदान गरेका पत्रकारहरूले सामाजिक न्याय र समावेशीता प्रवर्द्धनका लागि निरन्तर निगरानी गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक मुद्दामा समाचार लेखनमा सामाजिक तथा आर्थिकलगायत थुप्रै चुनौतीको सामना गर्नुपर्ने अनुभव सुनाएका थिए ।
प्रतिक्रिया राख्नुहोस्