तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: विनियोजन विधेयक २०८२ माथि छलफल जारी

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा  विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये रक्षा, गृह, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा,युवा तथा खेलकुदलगायतका विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय लगायत विभिन्न ११ वटा निकायका लागि बिनियोजन गरिएको बजेटमाथि समूहकृत रुपमा छलफल भएको छ । 

छलफलमा नेकपा एमालेका राष्ट्रियसभाका मुख्य सचेतक  भगवती न्यौपानेले भौतिक पूर्वाधारको क्षेत्रमा यो सरकारले उल्लेख्य प्रगति गरेको भन्दै बाँकी रहेका विकास निर्माणका कामलाई तीव्र रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

मुख्य सचेतक न्यौपानेले सांसदहरुले अझै पनि  बजेटका लागि मन्त्रीका ढोका धाउनुपर्ने अवस्था रहेको भन्दै जनताले सोचेजस्तो बजेट बिनियोजन  गर्ने अवस्था नभएको बताउनुभयो । 

बैठकमा नेपाली कांग्रेसका सांसद जितजङ बस्नेतले विगतका बजेटका संरचना  राम्रो भएपनि  कार्यान्वयनमा कमजोरी देखिएकोले,  यसपालिको बजेट कार्यान्वयनमा जोड दिनुभयो ।

सांसद बस्नेतले खेलकुदमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुपर्ने र युवालाई सीपयुक्त बनाउन बजेट बिनियोजन गरिनु सकारात्मक भएको बताउनुभयो । 

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद राधेश्याम पासवानले सरकारले ल्याएको  बजेट ऋणमुखी भएकाले देश र जनताको करभार मात्र बढाउने बताउनुभयो । 

बजेट किसानमैत्री नभएको भन्दै सांसद पासवानले जनसङ्ख्याको ६१ प्रतिशत हिंसा कृषिमा संलग्न भएको अवस्थामा कृषिमा करिब ३ प्रतिशत  मात्रै रकम छुट्ट्याउनु दुःखद भएको बताउनुभयो ।

एकीकृत समाजवादी पार्टीका सांसद डाक्टर वेदुराम भुषालले सरकारले ल्याएको बजेट यथार्थपरक नभएको बताउनुभयो । 

सांसद भुषालले कृषिमा बजेट बढाउन नसकेको बजेट क्षेत्रगत हिसाबले असन्तुलित भएको बताउनुभयो । 

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण , ठूला पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना र खेलकुद क्षेत्रका लागि यो बजेट सकारात्मक देखिएको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले  भोलिका कर्णधारलाई विद्यालय स्तरबाटै एनसिसीको सुरुवात गर्नु गौरवपूर्ण भएको भन्दै बिनियोजन विधेयकको समर्थन गर्नुभयो । 

बैठकमा सांसदहरु डा. अन्जान शाक्य, नरबहादुर विष्ट, युवराज शर्मा, जयन्तीदेवी राईलगायतले शिक्षा मन्त्रालयलाई विनियोजन रकमले जनशक्ति विकासमा योगदान गर्न सक्नुपर्ने, राजस्व वृद्धि र सुशासनलाई बढवा दिने गरी आएको बजेट सन्तुलित र जनमुखी भएको बताउनुभयो । 

यस अघि बैठकमा सांसदहरु नारायणदत्त मिश्र, सोनाम ग्याल्जेन शेर्पा,मदनकुमारी शाह गरिमा, उदयबहादुर बोहरा लगायतले किसानहरुले पर्याप्त रासायनिक मल नपाएको भन्दै  सरकारले जसरी भए पनि किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

आजको बैठकमा विभिन्न ११ वटा निकायको बजेटमाथि छलफल र परराष्ट्र, गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत ११ वटा मन्त्रालयका लागि विनियोजित बजेटको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले सम्हाल्ने गरी तोकिएको पत्र सभासमक्ष प्रस्तुत गर्नुभयो । 

बैठकमा सांसदहरुले विनियोजन विधेयकमाथि बोल्ने क्रम जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button