राष्ट्रियसभा बैठक: विनियोजन विधेयकमाथि छलफल
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ का विभिन्न शीर्षकमध्ये रक्षा, गृह, शिक्षा विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा,युवा तथा खेलकुदलगायतका विभिन्न मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय लगायत विभिन्न ११ वटा निकायका लागि बिनियोजन गरिएको बजेटमाथि समूहकृत रुपमा छलफल भएको छ ।

छलफलमा नेकपा एमालेका सांसद भगवती न्यौपानेले भौतिक पूर्वाधारको क्षेत्रमा यो सरकारले उल्लेख्य प्रगति गरेको भन्दै बाँकी रहेका विकास निर्माणका कामलाई तीव्र रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
यस अघि बैठकमा सांसदहरु नारायणदत्त मिश्र, सोनाम ग्याल्जेन शेर्पा,मदनकुमारी शाह गरिमा, उदयबहादुर बोहोरा लगायतले किसानहरुले पर्याप्त रासायनिक मल नपाएको भन्दै सरकारले जसरी भए पनि किसानलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा विभिन्न ११ वटा निकायको बजेटमाथि छलफल र परराष्ट्र, गृह, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, खानेपानी, वन तथा वातावरण, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत ११ वटा मन्त्रालयका लागि विनियोजित बजेटको छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएपछि प्रधानमन्त्री ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले सम्हाल्ने गरी तोकिएको पत्र सभासमक्ष प्रस्तुत गर्नुभयो ।
बैठकमा सांसदहरुले विनियोजन विधेयकमाथि बोल्ने क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्