तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ स्थित नैतुल आधारभूत विद्यालयको भवन पहिरोले भत्किँदा पठनपाठन प्रभावित बनेको छ ।

शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण विद्यालय माथिदेखि खसेको पहिरोले दुई वटा भवनका चार कक्षाकोठामा पूर्णरूपमा क्षति पुर्याएको हो ।

दुई मध्ये एउटा भवनको गाह्रो भत्किएर पहिरो कक्षाकोठा भित्रै पसेको र अर्को भवनको छानो भत्किएको विद्यालयका प्रधानाध्यापक बमबहादुर बोगटीले जानकारी दिनुभयो । दुई वटै विद्यालय भवन पहिरोको उच्च जोखिममा परेपछि पठनपाठन गर्न समस्या भएको उहाँको भनाइ थियो ।

विद्यालयमा सबै ससाना बालबालिका मात्रै अध्ययनरत रहेको प्रधानाध्यापक बोगटीले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पठनपाठनलाई तत्काल सञ्चालन गर्न विकल्प खोज्ने बताउनुभयो ।

असार १८ गतेदेखि पालिकास्तरीय पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको अवस्थामा पठनपाठन प्रभावित हुन पुगेपछि पालिकाले पठनपाठन गर्ने वातावरण तयार गर्ने उहाँको भनाइ थियो । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १ सय २२ बालबालिका अध्ययनरत छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button