पहिरोले बिहानैदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा खुल्यो
जुम्ला । अविरल वर्षापछि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
जुम्ला–सुर्खेत जोड्ने २३२ किमी दुरीको कर्णाली राजमार्ग अन्तरर्गत कालिकोट खण्डको गगने खोला र जितेगाडमा पहिरो गएर सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन जुम्लाले हेभी मेसिन सहित जनशक्ति परिचालन गरे पहिरो पन्छाएर सडक खुलाएको हो । अविरल वर्षापछि ठाउँमा ढुङ्गा सहितको पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बिहान ६ बजे गगने खोला र साढे ८ बजे जितेगाडमा भएको अवरोध खुलेसँगै सडक सञ्चालनमा आएको बताउनुभयो । उहाँका अनुसार राजमार्गको कालिकोट–जुम्ला खण्डमा पूर्ण रुपमा सडक सञ्चालन भएको छ ।
वर्षात जारी रहेकाले कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने जोखिम रहेको हुँदा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न समेत सडक डिभिजन जुम्लाले अनुरोध गरेको छ ।
बर्सातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्न समेत आग्रह गरिएको छ । अवराेध खुलेसँगै बिहानै देखी रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।
प्रतिक्रिया राख्नुहोस्