खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव आज स्पेन प्रस्थान गर्नु भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुनका लागि मन्त्री यादव स्पेन प्रस्थान गर्नु भएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इ. प्रमीलादेवी शाक्य बज्राचार्यसमेत स्पेन प्रस्थान गर्नु भएको मन्त्रालयले जनाएको छ ।
विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् ।
नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंसघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा जानु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्