तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर मेयर कप: पहिलो पटकको फाइनलमा उपाधि जित्ने दुवै टिमको दाउ

चितवन । दोस्रो भरतपुर मेयर कप फुटबलको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । फाइनल अघि आज (आइतबार) को प्रि म्याच कन्फ्रेन्समा डन एकेडेमी र वाल्मीकि शिक्षा सदन दुवैले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

मेयर कपको उपाधिका लागि सोमबार डन र वाल्मीकि भिड्दैछन् । डन पहिलो पटक मेयर कपमा सहभागी टिम हो भने दोस्रो पटक खेलिरहेको वाल्मीकि पहिलो पटक फाइनल प्रवेश गरेको हो । यसर्थ दुवै टिम पहिलो पटक फाइनल प्रवेश गर्दा नै उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

डनका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो टिम भोलि उच्च मनोबलका साथ मैदान उत्रिने बताए । उनले छनौट चरणदेखि नै टिमले मेहेनत गर्दै आएकोले फाइनलमा पनि नतिजा राम्रो आउने विश्वास व्यक्त गरे । उनले आफ्नो टिम आक्रामक शैलीमा मैदान उत्रिने बताए । कप्तान ले प्रतिद्धन्दीलाई कमजोर नआँक्ने तर उपाधि जित्ने दाबी गरे । पहिलो सहभागितामा नै उपाधि जित्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

वाल्मीकिका प्रशिक्षक ध्रुव भुसालले पहिलो संस्करणको मेयर कप खेलेका खेलाडीहरू यो पटक पनि टिममा रहेकोले त्यो अनुभव काम लाग्ने बताए । यो टिम फाइनलको अनुभव र दबाबसँग परिचित रहेकोले नजिता राम्रो आउने बताए । कप्तान एलेक्स गुरुङले वाल्मीकि उपाधि जित्नका लागि नै मैदान उत्रिने बताए । अघिल्ला खेलमा भएका कमजोरी फाइनलमा सुधार्ने उनको भनाइ थियो ।

फाइनल खेल भोलि दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुरमा हुनेछ । डन आदिकवि भानुभक्त मावि तथा वाल्मीकि जनज्योति माविलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् । चितवन जिल्ला फुटबल सङ्घको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवद्र्धनमा जारी प्रतियोगितामा ७६ स्कुल सहभागी थिए ।

यसैबीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रि म्याच कन्फ्रेन्सकै अवसरमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, महासचिव रामहरि ढकाल, संघका सदस्यहरु र दुवै टिमका प्रतिनिधिहरुको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button