तपाईँ सुन्दै हुनुहुन्छः

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔँ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आज श्रव्य दृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताउनुभयो । उहाँले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताउनुभयो । 

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिनुभएको छ । उहाँले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हर कुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताउनुभयो । 

एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँ गाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षक शिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिनुभयो ।

“इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था गर्‍यो । म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए । जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,” प्रधानमन्त्री ओलीले भन्नुभएको छ,  “तर हाम्रो यी सारा प्रयास हुँदाहुँदै पनि यदि विद्यार्थीको मेहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन ।”

प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्न समेत आग्रह गर्नुभयो । उहाँले श्रव्य दृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button