‘प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तहमा राख्न उपयुक्त हुने प्रस्ताव राख्नुभयो ।
मन्त्री लेखकले बढी समय खटिने ती तहका प्रहरी कर्मचारीको सेवा सुविधालाई प्राथमिकता दिई प्रहरी ऐन लाउने पक्षमा सरकार रहेको बताउनुभयो ।
“नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पूरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गरेदेखि सेवा निवृत्त हुँदासम्म सम्पूर्ण वृत्तिविकास लगायत समग्र पक्ष राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो ।” गृहमन्त्री लेखकले भन्नुभयो, “नेपाल प्रहरीसम्बन्धी कानुन यो देशको सबैभन्दा पुरानोमध्येको एक हो । यो कानुन अहिलेसम्म समयसापेक्ष रुपमा परिमार्जन हुन नसकेका सन्दर्भमा सङ्घीय संसद्को यही अधिवेशनबाट पास गर्नेगरी छिटोछरितो ढङ्गबाट विधेयक अघि बढाइदिनुहुन सबैसँग अनुरोध गर्दछु ।”
प्रतिक्रिया राख्नुहोस्