‘हामी राष्ट्रिय पुँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौँ’
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको बताउनुभएको छ ।

नेपाल उद्योग व्यापार महासङ्घको आज यहाँ आयोजित सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा उहाँले आफू सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पुँजीलाई प्रवद्र्धन गर्ने योजनाबद्ध प्रयास भएको बताउनुभयो ।
अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार राष्ट्रिय पुँजी प्रवर्द्धनमा आफूले जोड दिएको र सुशासन कायम गर्नमा नै ध्यान केन्द्रित रहेको बताउनुभयो ।
जनजीविकासँग प्रत्यक्ष सरोकार भएका ठूला पूर्वाधार परियोजना अघि बढाइएको स्मरण गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “सरकारको नेतृत्व गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण ‘करिडोर’लगायत परियोजनाको अवधारणा ल्यायौँ । ती आयोजनाले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन् । रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन अनुभव गरिसकेका छन् । हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि ग¥यौँ, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ ।”
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुन र महासङ्घका समूह प्रमुख गङ्गा कार्कीले देशको आर्थिक विकासबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्