आइसिसी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा लामिछाने र राजवंशीकाे छलाङ

काठमाडौँ । सन्दीप लामिछाने र ललितनारायण राजवंशीले आइसिसीको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा छलाङ मारेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधवार सार्वजनिक गरेको बलिङतर्फको नयाँ वरियतामा लेगस्पीनर सन्दीपले ४१ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डमा भएको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका चार खेलमा ११ विकेट लिएका थिए ।
त्यस्तै अर्का स्पिनर ललित २९ स्थान सुधार गर्दै ५४औँ स्थानमा उक्लिएका छन् । उनले स्कटल्यान्डको शृङ्खलामा चार विकेट लिएका थिए । अलराउन्डतर्फ दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन् । यसैगरी कुशल भुर्तेल ६ स्थान सुधार गरेर ३२औँ स्थानमा पुगेका छन् ।

यता ब्याटिङ वरियतामा पनि कुशल भुर्तेल १० स्थान सुधार गर्दै ८३औँ स्थानमा उक्लिएका छन् । यसैगरी कप्तान रोहितकुमार पौडेलको र आसिफ शेखको वरियता खस्किदा दीपेन्द्रसिंह ऐरी भने यथास्थानमा छन् ।
रोहित र आसिफ दुई स्थान तल खस्किएर क्रमशः ६६ र ७७औँ स्थानमा पुगेका छन् । दीपेन्द्र भने ६१औँ स्थानमा कायम छन् । एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा आरिफ शेख १३ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लिएका छन् ।
यता, ओपनर आसिफ शेख ९४ र रोहितकुमार पौडेल ९९औँ स्थानमा छन् । आसिफ चार तथा रोहित एक स्थान खस्किएका हुन् ।
अर्का ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ८७औँ स्थानमा पुगेका छन् । नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा १८ तथा एकदिवसीय वरियतामा १७औँ स्थानमा यथावत् छ ।
प्रतिक्रिया राख्नुहोस्