तपाईँ सुन्दै हुनुहुन्छः

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

दाङ । दाङका भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण गरिएको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोगले जिल्लामा पहिलो पटक दाङ जिल्लाको लमही नगरपालिकाका २३ जना भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । 

लमही नगरपालिका वडा नं.३ कान्छी गाउँका २३ घरधुरीलाई ८ धुरदेखि एक कट्ठासम्मको बसोबासका लागि जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले तोकिएको समय सीमा भित्र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुर्जा वितरण कार्यक्रममा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोगका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, उपप्रमुख लक्ष्मी योगीलगायतले भूमिहीन सुकुम्बासीलाई संयुक्त रूपमा लालपुर्जा हस्तान्तरण गर्नुभयो ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिको २०८२ साल जेठ ११ गतेको बैठकले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बुधबार आयोजित एक कार्यक्रममा २३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो ।

एक धुर जग्गा समेत नाममा दर्ता नभएका परिवारले पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरू निकै हर्षित भएका छन् । तीन पुस्तादेखि लालपुर्जाविहीन जीवन बिताउँदै आएका परिवारलाई पहिचान गरी जग्गा दर्ता गराइएको हो ।

गोचान्दर चौधरी, ठग्नी चौधरी, कालु चौधरी, विदेशी चौधरी, रोरु चौधरी, रामप्रसाद चौधरी, मिनाकुमारी चौधरी, गुरुप्रसाद चौधरी, शिवशंकर चौधरी, रामकुमारी चौधरी, सरिता चौधरी, हरिप्रसाद चौधरी, झलकराम चौधरी, सुनिता चौधरी, कमल चौधरी, अशोककुमार चौधरी, रामकली चौधरी, ठगिराम चौधरी, शहाविर चौधरी, कल्लुराम चौधरी, शेरु चौधरी, कङलु चौधरी र सुनिता चौधरीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button