भन्सार सम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भन्सार सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफल सुरु भएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन विधेयक ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले भन्सार प्रशासनको आधारभूत संरचना र प्रक्रियालाई व्यवस्थित गरी विधेयकले अन्तर्राष्ट्रिय व्यापारलाई सहज एवं सुरक्षित बनाउने र भन्सार महसुल सङ्कलनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा समेत टेवा पुर्याउने बताउनुभयो ।
बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भन्सार प्रणालीलाई प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वयमा जोड दिनुपर्ने, भन्सार छली तथा चोरी निकासी नियन्त्रण गर्न सिमावर्ती क्षेत्रका स्थानीय तहको भूमिका बढाउनुपर्ने तथा कर्मचारी प्रशासनबाट हुने अनियमिता र ढिलासुस्ती नियन्त्रणका लागि जोड दिनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभा अन्तर्गतको समितिमा विचाराधिन रहेको भन्सार सम्बन्धी विधेयक सकेसम्म छिटो टुङ्ग्याउने गरी अघि बढाएको समितिका सभापति तुलसाकुमारी दाहालले बताउनुभयो ।
सभापति दाहालले विधेयकको आकार ठुलो भएको र विधेयक माथि २१ जना सांसदले विभिन्न १ सय ३३ दफामा संशोधन प्रस्ताव दर्ता गराउनुभएकोले शनिबार समेत बैठक राखी दफावार छलफल टुङ्ग्याउने कार्ययोजना बनाएको पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्