तपाईँ सुन्दै हुनुहुन्छः

हिमाली गाउँपालिकामा सुरु भयो सिस्नु प्रशोधन उद्योग, रोजगारीको आशा

बाजुरा। बाजुराको हिमाली गाउँपालिका–६ स्थित पाँडि गाउँमा सिस्नु पाउडर उत्पादन तथा प्रशोधन उद्योग सञ्चालनमा आएको छ।

“सीप सिकौँ, रोजगार बनाऔँ” अभियान अन्तर्गत हिमाली गाउँपालिकाको आयोजना, आइएनएफ बाजुराको सहजीकरण र एप्पल टेक्निकल इन्स्टिच्युट प्रालि (वीरेन्द्रनगर, सुर्खेत) को प्राविधिक सहयोगमा उद्योग सञ्चालनमा ल्याइएको हो।

गाउँका बासिन्दाले दैनिक रूपमा उपयोग गर्दै आएको तर सदुपयोगमा नआएको सिस्नुलाई औद्योगिक उत्पादनसँग जोड्ने उद्देश्यले आधुनिक मेसिनसहितको उद्योग स्थापना गरिएको हो। उद्योगमार्फत सिस्नुलाई पाउडरमा रूपान्तरण गरी बजारसम्म पु(याउने तयारी गरिएको छ।

उद्योगको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गोभिन्द्र बहादुर मल्लले स्थानीय स्रोत र सीपको उपयोगमार्फत नागरिकलाई उत्पादनमा संलग्न गराउन उद्योग स्थापना गरिएको जानकारी दिनुभयो। “आफ्नै क्षेत्रको उत्पादनलाई प्याकेजिङ गरेर बजारमा लैजान घरेलु उद्योगको विकास आवश्यक छ,” अध्यक्ष मल्लले भन्नुभयो।

स्थानीय स्तरमै उद्योग स्थापना भएपछि पाँडि गाउँका बासिन्दा उत्साहित भएका छन्। पालिकाले आगामी दिनमा प्रत्येक वडामा यस्तै उद्योग स्थापना गर्ने नीति अघि सारेको जनाएको छ।

बाजुरामा प्रशस्त मात्रामा पाइने, औषधीय गुणले भरिपूर्ण सिस्नुलाई आवश्यक सीप र प्रविधिको अभावमा उपयोग गर्न नसकेकोमा अब भने त्यसको व्यावसायिक प्रयोगमार्फत रोजगारी र आम्दानीको अवसर सिर्जना हुने आशा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button