कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भव देखिँदैन : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले देशको कूल गाह्रस्थ उत्पादनमा करिब २३ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास विना राष्ट्रिय समृद्धि सम्भव नभएको बताउनुभएको छ ।
उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको स्थापना कार्यशालामा आज मन्त्री अधिकारीले राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको सिर्जना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरूदेखि नै महत्वपूर्ण योगदान रहँदै आएको र यस कार्यक्रमले कृषि क्षेत्रको दिगो विकासमा थप सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका २० जिल्लाका ८० वटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमले कृषि पारस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्द्धनमार्फत उक्त क्षेत्रमा उच्च सम्भावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवद्र्धन गर्दै बजारीकरणमार्फत साना कृषकहरूको आयआर्जन र गरिबी निवारणमा महत्वपूर्ण योगदान पुर्याउने छ भन्नुभयो ।
उहाँले विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरूको व्यवसायीकरण गरी मूल्य शृङ्खलाको विकास मार्फत निर्यात प्रवद्र्धन गर्नसके कृषकहरूको जीवनस्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने पनि बताउनुभयो ।
नेपाल सरकार र International Fund For Agricultural Development (IFAD) बीच सम्झौता भई ८ वर्ष अवधिका लागि लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेश अन्तर्गत २० जिल्लाका ८० पालिकाहरूमा लागु हुने यस कार्यक्रमले नाफामूलक, समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बनमार्फत युवा, महिला, जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थानशीलता सुधार गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रम मार्फत बुटवल उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण गरि सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रममार्फत देशका अन्य क्षेत्रहरूमा स्थापना भएका स–साना कृषि बजारहरूको आबद्धता गरी उच्च मूल्य कृषि वस्तुहरूको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्न सक्ने सम्भावना समेत रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्