तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा सवारी दुर्घटनामा एघार महिनामा ६९ को मृत्यु  

जनकपुरधाम । धनुषा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्यामा वृद्धि भएपनि दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ ।

अधिकांश मृत्यु मोटरसाइकल दुर्घटनामा परेर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको हो । गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परेर ७४ जनाको मृत्यु भएका थिए । तर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा १ हजार ९८ वटा सवारी दुर्घटनाका घटनाहरू भएको छ । जबकि गत वर्ष एक वर्षको अवधिमा १ हजार ९८ वटा सवारी दुर्घटना भएको छ ।

ट्राफिक नियमको विरुद्धमा सवारी साधन सञ्चालन गरेका व्यक्तिबाट ११ महिनामा १ करोड ९८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य प्रसाद शाहीले जानकारी दिनु भएको छ । गत वर्ष एक वर्षको अवधिमा २ करोड ३४ लाख ५१ हजार राजश्व सङ्कलन गरेका थिए ।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २५ हजार ६ सय ८८ जना माथि कारबाही भएको छ भने गत वर्ष २९ हजार ३५ जना सवारी चालकहरू कारबाहीमा परेका थिए । धनुषा जिल्लामा ट्राफिक सचेतनामा वृद्धि भएका कारणले पहिला भन्दा यस वर्ष ट्राफिक उल्लङ्घनको घटनामा थोरै मात्रामा भएपनि कामी आएको ट्राफिक प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

विद्यालय तहमा नै सचेतना गर्ने क्रममा वृद्धि भएका कारणले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्यामा कमी आउन थालेको छ । जिल्ला ट्राफिक पहरी कार्यालय धनुषाले यस वर्षको ११ महिनामा मात्र २ हजार ३ सय ४१ पटक सचेतनाको कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष २ हजार ३ सय ३८ पटक सचेतनाको कार्यक्रम गरेका थिए ।

यसै गरि यातायात व्यवस्था कार्यालय जनकपुरधामले ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गर्न थालेका छन् । कार्यालयले ट्राफिक सचेतनाका लागि ट्राफिक प्रहरी र विद्यार्थीका बीचमा सचेतना मूलक कार्यक्रम गरेको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम गरेको कार्यालय प्रमुख धनञ्जय कुमार सिंहले जानकारी दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button