तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्पले क्षतिग्रस्त साततले दरबार आजदेखि भत्काएर पुर्ननिर्माण सुरु गरिने

नुवाकोट । दश वर्षअघि गएको विनासकारी ‘गोरखा भूकम्प’ले क्षति पुगेपछि पुनर्निर्माणको लागी नुवाकोटको साततले दरबार (दुर्गरत्न) आज (आइतबार)देखि भत्काउन लागिएको छ ।

चिनियाँ कम्पनी मार्फत पुनर्निर्माण भइरहेको दरबारको पुर्ननिर्माण अघिको पूर्व तयारीको प्राविधिक काम सम्पन्न भएकाले भत्काउन लागिएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय नुवाकोटका प्रमुख सुनिल पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार दिनको एक बजेदेखि दरबारको छाना हटाएर क्षतिग्रस्त भाग भत्काउन सुरु गरिने जानकारी चिनियाँ पक्षले यहाँका सरोकारवालाहरूलाई गराएका छन् ।

दरबार पुनर्निर्माणको क्रममा पुर्ननिर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउँदै गएपछि मात्र थाहा हुने जानकारी चिनियाँ पक्षले गराएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । अहिलेको प्राविधिक अध्ययन अनुसार दरबारको जग तहदेखि तेस्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ । यद्यपि, दरबार भत्काउँदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात् दरबारलाई पूरै भत्काइने अथवा क्षतिग्रस्त तलाहरू हटाएर सोही स्थानबाट निर्माण सुरु गरिने निर्णय लिइने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

भूकम्पपछिको पुनर्निर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चिनियाँ निर्माण कम्पनी ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ मार्फत नुवाकोटको साततले दरबार, तुलजा भवानीको मन्दिर सहित थप आठवटा संरचनाको पुनर्निर्माणको काम भइरहेको छ ।

पुर्ननिर्माण अन्तरगत भूकम्पले पूर्ण क्षति पु¥याएको तुलजा भवानीको मन्दिर (तलेजु दरबार)को संरचना भने पूरै भत्काएर सकिएको छ । सोही स्थानमा अब पहिलाको जस्तै नयाँ निर्माण गर्न थालिएको छ ।

साततले दरबार र तुलजा भवानीको मन्दिरको निर्माण विसं. २०८३ असोज भित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । बाँकी रहने थप धार्मिक, साँस्कृतिक एवं पुरातात्त्विक संरचनाको निर्माण त्यसपछि अघि बढाइने समझदारी भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button