तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा अत्यधिक गर्मी बढेसँगै झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

बाँके । बाँकेमा बढ्दो गर्मीसँगै झाडापखाला, ज्वरो र छालासम्बन्धी समस्याका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएका छन्। 

अत्यधिक तापक्रमका कारण अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको भीड बढिरहेको छ।

भेरी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा.संकेतकुमार रिसालका अनुसार गर्मीको असरले गर्दा धेरै बिरामीहरूमा पखाला लाग्ने, ज्वरो आउने, छाला पोल्ने, र रक्तचाप घटबढ हुने समस्या देखिएको छ। “यतिबेला अस्पतालमा दैनिक दर्जनौँ बिरामीहरू यस्तै लक्षण लिएर आउँछन्। गर्मीको प्रभाव शरीरमा सोझै देखिने भएकाले बालबालिका, वृद्धवृद्धा र कमजोरी भएका व्यक्तिमा झनै जोखिम छ।”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज शिक्षण अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोमन किदवाइले गर्मीका कारण अस्पतालमा आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो ।“विशेषगरी बालबालिकामा रातो बिमिरा आउने, छालामा फोका उठ्ने र पछि घाउ बन्ने समस्या देखिएको छ। यो अवस्था अझ फैलिन सक्ने भएकाले सावधानी जरुरी छ।”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले पनि जिल्लाका सहरी र ग्रामीण दुवै क्षेत्रमा गर्मीजन्य रोगका बिरामी स्वास्थ्य संस्थामा बढ्दै गएका जानकारी दिनुभयो। विशेषगरी पानीको कमी, दूषित खानेपानी र स्वच्छतामा कमी भएका क्षेत्रमा जोखिम बढी भएको उहाँले बताउनुभयो ।

जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको बेला यो अवस्था देखिएको हो। यदि सावधानी नअपनाइए थप जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button