अवैध गहनासहित २ जना पक्राउ
कास्की । पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ८२ तोला १६ लाल सुनका गरगहना बरामद गरेको छ । ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबरको रहेको छ । बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मङ्गलसूत्र र पोतेलगायत समावेश छन् ।
प्रहरीका अनुसार कुलदिप सिंह र रामबहादुर बिक सामाजिक सञ्जालमार्फत झण्डै तीन वर्षअघिदेखि सम्पर्कमा रहेको खुलेको छ । भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिपले नेपालमा पनि कारोबार गर्ने योजना बनाएको बुझिएको कास्की प्रहरीले जनाएको छ ।
सोही क्रममा अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गहना ल्याइ नेपालमा बिक्री गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रामबहादुरले सो कारोबारमा संलग्न भई बिक्रीपश्चात् केही पैसा पाउने सर्तमा साथ दिएको बयान दिएका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्