तपाईँ सुन्दै हुनुहुन्छः

मार्तडी-कोल्टी सडक खण्ड: ठेकेदारले काम नगर्दा करोडौँ रकम फ्रिज

बाजुरा । बाजुराको मार्तडी कोल्टी सडक खण्डको ढम्कनेदेखि कोल्टीसम्म यो आर्थिक वर्षमा ठेकेदारले काम नगर्दा करोडौँ रकम फिर्ता हुने भएको छ ।

यो आर्थिक वर्षमा उक्त सडक कालोपत्रेको लागि १५ करोड बजेट रहेको थियो । काम गर्ने जिम्मा पाएको पिएस बानियाँ निर्माण सेवाले करिब डेढ करोडको मात्र काम गरेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंग बहादुर थापाले बताउनुभयो। ठेकेदारले काम नगरेपछि झण्डै १३ करोड ५० लाख फिर्ता हुने भएको थापाको भनाइ छ । आर्थिक बर्ष २०७७ असारमा २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरि सम्झौता भएको थियो ।

निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको थियो । सम्झौतामा ३ बर्ष भित्र काम सम्पन्न गर्ने सहमति भएको थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले फेरि १ पटक म्याद थप गरेको थियो । म्याद थप गरिए पनि यो आर्थिक वर्षमा भने पैसा भएपनि ठेकेदारले काम नगरेर रकम फिर्ता हुन लागेको पूर्वाधार कार्यालय अछामले जनाएको छ ।

कार्यालयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेण्डर गरेको थियो । पिएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्सातमा मार्तडी कोल्टी सडक बन्द हुने गरेको छ । काम गर्ने जिम्मा पाएको पिएस बानियाँ निर्माण सेवा नेपाली काँग्रेसका नेता इन्द्र बहादुर बानियाँको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली काँग्रेस बाग्मती प्रदेश सभापति हुनुहुन्छ।

मार्तडी कोल्टी सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण भएको २७ बर्ष सम्म पनि पुरा हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button