तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको अनुरोधमा इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गर्दै 

काठमाडौँ । इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ ।

नेपाल सरकारको अनुरोधमा उनीहरुलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले  आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा. राणाले भन्नुभयो “इरानमा हाम्रा पनि सानो सङ्ख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरू उहाँहरूको सहयोगको प्रतीक्षामा छौँ ।” 

केही दिनयता जारी इजरायल इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा राणाले भारत सरकारसँग सो आग्रह गर्नुभएको थियो । यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।  

इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र  इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहनुभएको छ ।  

यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरुलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button