तपाईँ सुन्दै हुनुहुन्छः

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी। लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ ।

बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो । बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका होटल सञ्चालक हस्तमाया तिलिजा पुनले खोप्रा लेकमा पुगेर तीन बोरा ढकायो टिपेर ल्याउनुभएको छ । “होटलमा आउने पाहुनालाई चखाउन, बजारका आफन्तलाई कोशेली पठाउन ढकायोको गुन्द्रुक बनाउने, रातो च्याउ टिप्ने र टुसा भाँच्ने चलन छ,” उहाँले भन्नुभयो “सहरमा अत्याधिक माग भएकाले जङ्गलमा जुकाको आक्रमण सहेर खेर गइरहेको च्याउ, टुसा र ढकायो विपन्नको लागि आम्दानीको स्रोत पनि बनेको छ ।”

ताजा च्याउ प्रतिकेजी रु एक हजार १०० र ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजारमा बिक्री हुन्छ । प्रतिमुठा टुसा रु २०० का दरले बिक्री हुन्छ । गुर्जा, कुइने, मङ्गले, घ्यासीखर्क, नारच्याङ, पाउद्वार, दोवा, दाना, मुना, खिवाङ, बगर, मल्कवाङ, खोरीयाको जङ्गलमा रातो च्याउ, टुसा र ढकायो प्रशस्त मात्रामा पाइन्छ ।

टुसा, च्याउ र ढकायोको परिकार सहरबाट आउने पाहुना र आफन्तको पहिलो रोजाइमा पर्ने गरेको खोप्रा–खयर पदमार्गमा पर्ने लरेनीका होटल ब्यवसायी लिल पुनले बताउनुभयो । “लेकाली खाद्य बनस्पती च्याउ, टुसा र ढकायोको माय यति छ की जङ्गलबाट ल्याउना साथ खोसाखोस हुन्छ,” उहाँले भन्नुभयो “जाँगर र अक्कल भएकाले जङ्गली च्याउ, टुसा र ढकायो बेचेर आम्दानी पनि गरेका छन् ।”

रोजगारी, पेशा, व्यवसाय र अध्ययनको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देली र म्याग्दी घुम्न आउने स्वदेशी तथा विदेशी पाहुनाले ढकायो कोशेलीको रूपमा लैजाने गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३ काभ्रेकी सुकमाया बुढाथोकीले बेलायत, हङकङ, जापानलगायत देशका ढकायो पठाउने गरेको बताउनुभयो । विदेशमा म्याग्देलीले सञ्चालन गरेका रेष्टुरेष्टका मेन्युमा ढकायोको गुन्द्रुक परिकारका रूपमा राखिएको छ ।

दुई हजार ५०० देखि तीन हजार ५०० मिटर उचाइको भूगोलमा पाइने ढकायो, च्याउ र टुसा सङ्कलन गर्ने याम असार महिना हो । बजारमा माग बढेपछि टुसा, च्याउ र ढकायो साग आम्दानीको स्रोत बनेको मालिका गाउँपालिका–३ की शान्ति नेपालीले बताउनुभयो । गाउँमा सडक सुविधा भएपछि लेकको ताजा तरकारी सहजै बजारमा पुग्न थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button