तपाईँ सुन्दै हुनुहुन्छः

सुवासचन्द्र ढुङ्गेलको मुक्तक कृति ‘क्रमभङ्ग’ लोकार्पण

काठमाडौँ I नेपाली गीति फाँटमा सग्लो पहिचान बनाइसक्नु भएका गीतकार सुवासचन्द्र ढुङ्गेलले आफ्‌नो पछिल्लो कृति मुक्तक सङ्ग्रह “क्रमभङ्ग ” शुक्रबार काठमाडौँमा सार्वजनिक गर्नुभएकाे छ । 

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार किशोर पहाडीलगायतका अतिथिहरूले सो कृतिको लोकार्पण गर्नुभयो । आवरण प्रकाशनले प्रकाशित गरेको सो कृतिमा विभिन्न भाव र विषयका २१० वटा मुक्तक समावेश छन् । 

साहित्यकार पहाडीले मुक्तकले अहिलेको संसारलाई सम्बोधन गरेको विचार राख्नुभयो । कृति समीक्षक प्रा. डा. कपिल अज्ञातले कोमल विधाको गीत लेख्ने ढुङ्गेल मुक्तकजस्तो चोटिलो विधामा पनि पारङ्गत भएको विचार व्यक्त गर्नुभयो । मुक्तककार दिव्य गिरीले दशकौँ अघि रेडियो नेपालबाट सुनेको नामलाई स्थापित गीतकार र मुक्तककार भनेर चिन्न पाउँदा खुसी लागेको बताउनुभयो ।

आवरण प्रकाशनका प्रबन्ध निर्देशक कवि तथा कलाकार रमेश पौडेलले गीतकार ढुङ्गेल गीतमा जति सफल हुनुहुन्छ, मुक्तक लेखनमा पनि चोटिलो प्रहार गर्न सक्षम रहेको बताउनुभयो ।  कवि तथा समालोचक भारती न्यौपानेले गीतकार ढुङ्गेललाई मुक्तककारको रूपमा चिन्न पाउँदा आयामिक व्यक्तित्वको झलक पाएको कुरा बताउनुभयो । 

कृतिकार ढुङ्गेलले विश्व परिवेशका सन्दर्भ र दर्शनका कुरालाई फ्युजन गरेर आफूले मुक्तक सिर्जना गरेको तर्क राख्दै एकल मुक्तक वाचन गर्ने रहर पलाएको कुरा सुनाउनुभयो । सो समारोहमा कवि तथा मुक्तकारद्वय विपिन मर्म र माया उपाध्यायले पनि गीतकार तथा मुक्तककार ढुङ्गेलको सिर्जना संसारका बारेमा चर्चा गर्नु भएको थियो । गीत, सङ्गीत क्षेत्रका कलाकारहरूको समेत सहभागिता रहेको समारोहमा प्रकाशक र लेखकका तर्फबाट अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button