सडकसँग जोडियो हुम्लाको दुर्गम गाउँ कर्गइँ

हुम्ला । राष्ट्रिय सडक सञ्जालमा नजोडिएका कारण हरेक क्षेत्रमा समस्या भोगिरहेका हुम्लाका हरेक बस्तीहरू अहिले धमाधम सडक सञ्जालमा जोडिँदै गएका छन् ।
गाउँपालिकाले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न तथा आउजाउमा सहज हुने गरी प्रत्येक वर्षमा सडक निर्माणलाई निरन्तरता दिँदै आएपछि यति वेला दुर्गम गाउँबस्तीहरु पछिल्लो समय सडक सञ्जालमा जोडिँदै गएका हुन् ।
अदानचुली ५ को कालागाडसम्म सडक सञ्जाल जोडिएको भएपनि गाउँसम्म सडक नपुग्दा दैनिक उपभोग्य बस्तुहरू उकालोमा बोक्दै लिनु पर्ने बाध्यता हटेको अदानचुली ५ कर्गइँका जयबहादुर छत्यालले बताउनुभयो । यहाँका अधिकांश गाउँ बस्तीमा सडक पुगेपछि अहिले स्थानीयलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री ढुवानी गर्न तथा आउजाउ गर्नमा निकै सहज भएको भएपनि आफूहरूले भने काँध वा पिठ्युँमा भारी बोकेरै लिनु पर्ने बाध्यता टर्ने भएपनि अत्यन्तै खुसी भएको बताउनुभयो ।
अघिल्लो वर्ष देखीको निरन्तर पहलमा स्थानीय सरकार र स्थानीय पूर्वाधार कार्यालय सुर्खेत मार्फत १ करोड ५० लाख बजेट विनियोजन गराई सकेपश्चात् बल्ल गाउँमा सडक पुगाउन सकिएको वडा नम्बर ५ का वडा अध्यक्ष कमलबहादुर छत्यालले बताउनु भयो उनले भने, ‘यसअघि यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न दुई–चार दिन पैदलयात्रा गर्नुपर्थ्यो । अहिले नजिकै सडक पुग्यो तर गाउँमा पुगेको थिएन, साँझपख पसिना निकालेर उकालोमा भारी बोक्न बाध्य थिए अब गाउँमा सडक पुगेपछि त्यो खाद्यान्न सामग्री गाडीमा घरमै पुग्छ ।’
अदानचुली गाउँपालिकाका पाँच वडा सडक सञ्जालमा जोडिए पनि वडा नम्बर ६ को पाल्स र लमही सडकको पहुँचमा छैन । लमही र पाल्सका गाउँ बस्तीमा सडक पुर्याउने कार्यलाई निकै तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो ।
गाउँमा सडक पुगेपछि कर्गइँको लाम्पाटा पुगेका सिंहले भने यहाँका अधिकांश बस्तीको बिचबिचमा ठुला चट्टान भएकाले त्यस ठाउँमा सडक खन्न निकै समस्या भएकाले ती बस्तीहरू सडक सञ्जालको पहुँचमा पुग्न ढिलाइ भएको र यी ठुला चट्टानलाई फोड्दै सडक नपुगेका गाउँ बस्तीलाई सडकसँग जोड्ने काम भइरहेको गाउँपालिका बताउनु भयो उनले भने, ‘यस ठाउँको भूगोलले नै समस्या पारेकाले केही ढिलाइ भएको छ, यतिबेला करिब रु. एक करोड भन्दा धेरै बजेट विभिन्न निकायबाट पहल गरी विनियोजन गरिएकाले धमाधम काम भइरहेको बताउनुभयो ।’ गाउँमा सडक पुगेपछि स्थानीय निकै खुसी भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्