काँक्रेविहार मन्दिर परिसर पदमार्ग निर्माणको भौतिक प्रगति ६० प्रतिशत
सुर्खेत । ऐतिहासिक काँक्रेविहार मन्दिर परिसरमा पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।
नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष रहेको काँक्रेविहार मन्दिर परिसरमा आउने पर्यटकको बसाइ लम्ब्याउन कर्णाली प्रदेश सरकारले चाँसो लिएपछि पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यले गति लिएको हो । चार सय ५२ मिटर लम्बाइ रहेको पदमार्ग अबको आठ दिनमा निर्माण सम्पन्न गर्नुपर्ने कार्यादेश निर्माण ठेकेदार कम्पनीले पाएको छ ।

त्यसमध्ये काँक्रेविहार मन्दिरको दर्शन गर्न चाहनेहरूको सहजताका लागि छुट्टै ५० मिटरको अपाङ्गमैत्री बाटो निर्माण गरिएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिनु भयो । उहाँले ८० लाख रुपैयाँ लागत स्टमेट रहेको उक्त निर्माण कार्य घटेर श्रीकृष्ण निर्माण सेवा सुर्खेतले ४८ लाख मै स्वीकार गरेको बताउनु भयो । उहाँका अनुसार हालसम्म निर्माण कम्पनीले ११ लाख रुपैयाँ मात्र पेश्की लिएको छ ।

उहाँले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मार्फत चालु आर्थिक वर्ष २०८१/८२ को धार्मिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदाको संरक्षणका लागि विनियोजित बजेटबाट निर्माण गरिएका आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउनुभयाे । काँक्रेविहार मन्दिर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक स्थल रहेको बताउँदै उहाँले पर्यटकको बसाइ लम्ब्याउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सरकारले मन्दिर परिसरमा पदमार्ग तथा विश्राम स्थल निर्माण कार्यलाई तीव्रता दिएको जानकारी दिनु भयो ।

काँक्रेविहार मन्दिरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीमा अवस्थित काँक्रेविहारमा प्राकृतिक सुन्दरता बोकेकाले यहाँ पुग्ने हरेकको मन लोभिने गर्दछ । काँक्रेविहारमा बौद्ध धर्मसम्बन्धी पुरातात्त्विक भवन तथा विहारहरूको भग्नावशेष भेटिएकाले यसको महत्व थप बढेको हो । नेपालको सबैभन्दा ठुलो प्राचीन सभ्यताको भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार काँक्रेविहारमै रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्