तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई जनताले महशुस गर्ने बनाउन सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । 

लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्ती समारोहलाई आज सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले लोकतन्त्रलाई बलियो बनाउन कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्ने बताउनुभयो । 

राष्ट्रपति पौडेलले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी सुशासनको मर्म र भावना अनुरुप काम गरे मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमा जनताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्दै तीव्र आर्थिक विकासलाई अगाडि बढाउन सकिने बताउनुभयो । 

उहाँले कर्मचारीतन्त्रले जबसम्म नागरिक हकका निम्ति सहज पहुँच दिन सक्दैन तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकतालाई बिर्सन नहुने पनि बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । 

प्रधानमन्त्री ओलीले नेपाल र नेपाली चाहनाअनुरूप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्ष बनाएकोमा खुसी लागेको भन्दै आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहने बताउनुभयो ।

लोक सेवा आयोगको हीरक जयन्तीका अवसरमा आयोगमा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी र पूर्व कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button