नेपालगञ्ज फोटो फेस्टिवल असार ४ र ५ गते, १११ फोटो प्रदर्शनीमा
बाँके।नेपालगञ्जमा आयोजना हुने ‘नेपालगञ्ज फोटो फेस्टिवल’ को चौथो संस्करण आगामी असार ४ र ५ गते हुने भएको छ। अन्तरालको आयोजनामा हुने यो फेस्टिवलमा फोटो प्रदर्शनीसहित फोटोग्राफी तालिमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
राष्ट्रिय फोटो प्रतिस्पर्धामा देशभरबाट प्राप्त सयौँ फोटोमध्ये निर्णायक मण्डलले छनोट गरेका १११ फोटो फेस्टिवलमा प्रदर्शन गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो। उहाँका अनुसार छनोटमा परेका फोटोहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ भने नेपालगञ्ज, काठमाडौं र सातै प्रदेशमा आयोजना हुने अन्य फोटो प्रदर्शनीहरूमा समेत समावेश गरिनेछ।
निर्णायक मण्डलमा वरिष्ठ फोटो पत्रकार विकास कार्की, फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर रहेका छन्।
फेस्टिवल संयोजकको जिम्मेवारी दोस्रो संस्करणमा ‘वर्ष फोटो’ उपाधि जितेकी पत्रकार निशु जोशीलाई दिइएको छ।
पहिलो संस्करणमा रुकुमकी मैत्या घर्ती मगर र तेस्रो संस्करणमा मुगुका पत्रकार राजबहादुर शाहीले उपाधि जितेका थिए।
यसपटकको प्रतिस्पर्धामा सहभागी १११ फोटोमध्येबाट एक उत्कृष्ट फोटो ‘वर्ष फोटो–२०८१’ उपाधिका लागि चयन गरिनेछ।
विजेताले ५१ हजार १ सय ११ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछ।
फेस्टिवलमा राष्ट्रिय सहभागिताप्रति आभार व्यक्त गर्दै प्रमुख कार्यकारी शाहले दुई दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सबैलाई आमन्त्रण गर्नुभयो। उहाँले भन्नुभयो, “यो प्रदर्शनीमा सिंगो नेपाल झल्किनेछ।”
प्रतिक्रिया राख्नुहोस्