तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक पर्यटन प्रवर्द्धनमा ‘जाऊँ है पोखरा’ अभियान सक्रिय, नेपालगञ्जमा कार्यक्रम सम्पन्न

बाँके । आन्तरिक पर्यटन प्रवर्द्धनलाई उद्देश्य राख्दै होटल संघ पोखरा नेपालले सञ्चालन गर्दै आएको ‘जाऊँ है पोखरा’ अभियानअन्तर्गत नेपालगञ्जमा प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ।

शनिबार नेपालगञ्जमा सम्पन्न कार्यक्रममा स्थानीय होटल व्यवसायी, पत्रकारलगायतको उपस्थिति रहेको थियो। संघका उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार पर्यटन बोर्डको सहकार्यमा पश्चिम नेपालका विभिन्न सहर, बुटवल, दाङ हुँदै नेपालगन्जसम्म अभियान सञ्चालन गरिएको हो। ‘यस अभियानले आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धिसँगै पर्यटन व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको छ,’ श्रेष्ठले बताउनुभयो ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखराको पर्यटनमा आन्तरिक पर्यटकको योगदान ४० प्रतिशत रहेको छ, जुन दसैँ–तिहार वा अङ्ग्रेजी नयाँ वर्षजस्ता अवसरमा ८० प्रतिशतसम्म पुग्ने गर्छ।

केबलकार एण्ड टुरिजम लि।का उपाध्यक्ष किरण पोखरेलले द्वन्द्वकालका कारण विदेशी पर्यटक अभाव हुँदा आन्तरिक पर्यटकप्रतिको ध्यान बढेको बताउनुभयाे । उहाँले सन् २००१ मा सुरु गरिएको अभियानको प्रभावस्वरूप कोरोना महामारी अघि आन्तरिक पर्यटकको हिस्सा ४० प्रतिशतसम्म पुगेको जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य कृष्पोण केसीले नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा सञ्चालनमा जोड दिए। नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले आगामी आर्थिक वर्षदेखि ‘नरैनापुर घुम्न जाऊँ’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

पर्यटन विज्ञ दिपेन्द्र पहाडीले आन्तरिक पर्यटकप्रतिको चासो द्वन्द्वपछि मात्र बढेको उल्लेख गर्दै भन्नुभयाे , ‘कोरोनापछि आन्तरिक पर्यटकको हिस्सा पुनः घटेर ३० प्रतिशत हाराहारीमा झरेको अनुमान छ।’

होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष भास्कर काफ्लेले धार्मिक पर्यटनको प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button