नेपालगन्ज मेयर कप भलिबल प्रतियोगितामा आदर्श र धम्बोझी मावि विजयी
बाँके । नेपालगन्जमा सम्पन्न प्रथम नगर मावि स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आदर्श मावि र धम्बोझी माविले उपाधि जितेका छन्।
महिलातर्फ आदर्श माविले युनाइटेड एजुकेशनल एकेडेमीलाई २५–१६, २५–१३ को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो। पुरुषतर्फ धम्बोझी माविले जय जनता मावि थपुवालाई २५–१६, २५–१६ ले पराजित गर्दै विजेता बन्यो।
महिलातर्फ जयबागेश्वरी माविले सगरमाथा माविलाई २५–१९, २५–१६ ले हराउँदै तेस्रो स्थान प्राप्त गर्यो। पुरुषतर्फ मंगलप्रसाद माविले युनाइटेडलाई २५–१८, २४–२६, २५–२२ ले हराउँदै तेस्रो भयो।

विजेता टिमले नगद २० हजार, उपविजेताले १५ हजार, तेस्रो हुने टिमले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगितामा धम्बोझी माविका श्यामलाल विश्वकर्मा र आदर्श माविकी ग्रेष्ना चिलवाल उत्कृष्ट खेलाडी घोषित भए। उनीहरूले ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
पुरस्कार वितरण नेपालगन्जका मेयर प्रशान्त बिष्ट, लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाल, प्रशासकीय प्रमुख रामहरि शर्मा, समाजका कार्यबाहक अध्यक्ष निजामुद्दिन सिद्दिकी र ओलम्पियन पार्वती थापाले गरे।
पूर्व खेलाडी समाज बाँकेको आयोजना र उपमहानगरको सहयोगमा सम्पन्न प्रतियोगितामा १३ विद्यालयका २० टिम (पुरुष र महिला दुवैतर्फ १०–१० टिम) को सहभागिता रहेको थियो।
समापन समारोहमा नेपालगन्ज–१८ निवासी तथा ५ दशकदेखि खेलकुदमा सक्रिय अशोकजंग थापालाई दोसल्ला, ढाकाको टोपी र कदरपत्रसहित सम्मान गरियो।
प्रतिक्रिया राख्नुहोस्