‘नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले उठाएका जिज्ञासाबारे स्पष्ट पार्दै उहाँले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवश उठाइएको कुप्रचार भन्दै खेद प्रकट गर्नुभयो । उहाँले सो विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभयो ।
सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात् अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गर्नुभयो । गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “केके गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि तयार छु भन्ने विषय पुनः दोहोर्याउन चाहन्छु”, उहाँले भन्नुभयो ।
आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गर्नुभयो । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उहाँको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव आफ्नो पालामा अर्को मन्त्रालयबाट सरुवा गरी ल्याएको अधिकारी नभई गृह मन्त्रालयमै कार्यरत भएकाले जिम्मेवारी हेरफेर मात्र गरिएको उहाँले बताउनुभयो । गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियारमा कार्यरत प्रहरी नायब महानिरीक्षक सरुवा गरेको भन्ने विषय सत्य नभएको बताउनुभयो ।
आफूले गृह प्रशासन सुधारको योजना अघि बढाइरहेको जानकारी दिँदै उहाँले पदभार सम्हालेदेखि सार्वजनिक प्रशासनको थप प्रभावकारिताको प्रयास गर्दै आएको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्