रास्वपा र राप्रपाको विरोधका बीच प्रतिनिधि सभाको बैठक सञ्चालन
काठमाडौँ । भिजिट भिसा प्रकरणका कारण लामो समयदेखि अवरूद्ध हुँदै आएको प्रतिनिधि सभाको बैठक आज भने सञ्चालन भएको छ ।

प्रतिपक्षी दलहरू दुई खेमामा विभाजन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको विरोधका बीच बैठक सञ्चालन भएको हो ।
सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सहितका केही प्रतिपक्षी दलहरू बीच आजै भएको दुई बुँदे सहमतिमा रास्वपा र राप्रपा सहमत नभएपछि विरोधका बीच संसद्को कारबाही अगाडि बढेको थियो ।
सभामुख देवराज घिमिरेले बैठकको सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभएपछि रास्वपा र राप्रपाका सांसदहरूले टेबुल ठोकेर विरोध जनाउनुभयो ।
सभामुखले बैठकलाई सहज रुपमा सञ्चालन गर्न र सबैलाई बोल्न समय दिने बताई रहँदा पनि राप्रपा र रास्वपाका सांसदहरूले हो–हल्ला गरिरहेपछि विरोधका बीच सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो ।
सांसद पाण्डेले भिजिट भिसा प्रकरणमा जनताले भोग्नुपरेका समस्या समाधान होस् भनी निरन्तर रुपमा विषय उठाउँदै आएको र दलहरूबिचको सहमतिका आधारमा अगाडि बढ्न तयार रहेको बताउनुभयो ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिनुभएपछि भने संसद्को हो–हल्ला रोकिएको थियो ।
राप्रपा अध्यक्ष लिङदेनले राजनीतिक क्षेत्रको सहभागिताविना भिजिट भिसा प्रकरणमा जस्ता भ्रष्टाचारका घटना हुनै नसक्ने दाबी गर्नुहुँदै विपक्षी दलका नेताहरूले यतिका दिन सम्म आन्दोलनको नाटक गरेर वीरतापूर्वक आत्मसमर्पण गरेको भनि टिप्पणी गर्नुभयो ।
त्यस पछि बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, मन्त्री र उच्च तहका कर्मचारीहरू संलग्न रहेको देखिने यथेष्ट प्रमाण आफूहरूसँग रहेको दाबी गर्नुभयो ।
राप्रपा र रास्वपाका नेताहरूले बोल्दा शान्त रहेको बैठकमा सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिनुभएपछि पुनः हो–हल्ला र नाराबाजी सुरु भयो ।
रास्वपा र राप्रपाका सांसदहरूको नाराबाजी र बेल घेराउ छल्दै रोष्ट्रममा पुग्नुभएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पार्नुहुँदै अख्तियारबाट भइरहेको अनुसन्धानमा आफ्नो पूर्ण सहयोग रहने बताउनुभयो ।
गृहमन्त्री लेखकले आफ्ना विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण भइरहेको र अनुमानका भरमा लगाइएको आरोपका भरमा आफूले पदबाट राजीनामा नगर्ने समेत बताउनुभयो ।
गृहमन्त्री लेखकले आफु विरुद्ध नक्कली पीडित खडा गरेर उजुरी दर्ता गराउने प्रयास भइरहेको जिकिर गर्नुहुँदै कसैले आफ्नो राजनीतिक अभिष्ठ पूरा कीर्ते उजुरी तयार गरे कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।
सांसदहरूको विरोधका बीच अघि बढेको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीका अन्य विषयहरू हटाइएको जानकारी गराउनुहुँदै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको सांसद पद निलम्बन भएको सूचना सहितका अन्य केही पत्रहरू भने पढेर सुनाउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक असार १ गते आइतबार बिहान ११ बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्