तपाईँ सुन्दै हुनुहुन्छः

अशोक सिलवालको ‘अप्प दीपो भवः’ लोकार्पण 

काठमाडौँ । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ ।

तीर्थहरूको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो ।

लेखक सिलवाल र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । ‘तिब्बत गए पनि धेरै वर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोवर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक भने ल्हासास्थित पोताला दरबार पुगेर गर्नुभएको छ ।

‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिबद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलङ्का स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।

‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले भन्नुभयो, ‘यो प्रकृति र अध्यात्मतिरको यात्रा हो, आफैतिरको यात्रा हो ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button