तपाईँ सुन्दै हुनुहुन्छः

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक

काठमाडौँ I गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको समन्वय हुनुपर्ने बताउनुभएको छ । 

प्रहरी प्रधान कार्यालयमा आज आयोजित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनमा गृहमन्त्री लेखकले दुई पक्षबीच निरन्तर समन्वय हुन जरुरी रहेको बताउनुभयो ।     प्रहरीले सीमित स्रोत र साधनका भरमा धेरै काम गर्नुपरिरहेको उहाँको भनाइ थियो । 

“सबैभन्दा बढी कामको जिम्मेवारी लिएका सुरक्षा निकायहरू सीमित स्रोत र साधनका भरमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “सरकारले पर्याप्त ध्यान दिँदैछ, दिन्छ ।” आगामी आर्थिक वर्ष २०८२/८३ मा तुलनात्मक रुपमा प्रहरीतर्फ बजेट उल्लेखनीय रुपमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 

“अपराधमा पनि विज्ञानको प्रयोग भइरहेको छ । त्यसो भएकाले हामीले पनि अनुसन्धान र अभियोजनका क्रममा विज्ञानको प्रयोग गर्न जरुरी छ । विज्ञानको प्रयोग भनेको प्रविधिका मार्फत गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो । विज्ञान र प्रविधिको अधिकतम् प्रयोग गरेर अनुसन्धानलाई स्वस्थ, स्वच्छ र भरपर्दो बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । 

“अभियोजनका क्रममा पनि विज्ञानको प्रविधिको प्रयोग आवश्यक छ । विज्ञानको प्रयोगले मात्रै पुग्दैन । विज्ञानको सही प्रयोग हुन जरुरी छ । प्रविधि र विज्ञानको प्रयोग पनि न्यायलाई सहयोग गर्ने गरेर हुनुपर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि प्रमाण सङ्कलन होसियारका साथ गर्नुपर्ने हुन्छ ।” 

फौजदारी न्यायमा अनुसन्धान र अभियोजन महत्वपूर्ण आयाम हुने मन्त्री लेखकको भनाइ थियो । “फौजदारी न्यायको केन्द्रमा पीडित रहन्छ । पीडितलाई हामीले न्यायको अनुभूति गराउन सक्यौँ की सकेनौँ ? कुनै पनि आपराधिक कार्यबाट आफूलाई पीडित अनुभूति गरेको व्यक्तिलाई न्याय प्राप्त भयो भन्ने कुराको अनुभूति गर्न सक्यौँ की सकेनौ”, उहाँले भन्नुभयो–“त्यो फौजदारी न्यायको मुख्य उद्देश्य हो । यो क्षेत्रमा अत्यन्त मेहनत र क्रियाशीलताका साथ, अत्यन्त बुद्धि र विवेक प्रयोग गरेर काम गर्न जरुरी छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button