तपाईँ सुन्दै हुनुहुन्छः

अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर सङ्कटमा

चितवन । व्यवसायीक  ह्याचरीबाट कोरलिएका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा परेका  छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो  । 

बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरू बताउँछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्न नै नसकेको गुनासो गरेका छन् । 

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न रु ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरू बैङ्किङ ऋण थपेर चल्न बाध्य भएको उहाँले बताउनुभयो । 

उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो सङ्ख्या बढेर ३५ लाख नाघेको छ । भारतीय क्षेत्रबाट निर्बाध रुपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार प्रति गोटा रु एक सय ३० खर्च हुने लेयर्स कुखुराको चल्ला पनि रु एक सयको हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ । 

नेपालका ह्याचरी उद्योगहरू हरेक हप्ताको आइतबार र मङ्गलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा एक सय १८  ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् ।  कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । 

यस्तै १४ रहेको लेयर्स ह्याचरी रहेका थिए । त्यतिबेला  एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो ।  लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।

चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैङ्कको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनु लगायतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button